अखिल क्रान्तिकारीको मतगणना किन राेकियाे, कहिले सुरु हुन्छ ?
काठमाडाैं । मध्यान्न १२ बजेपछि पुनः सुरु गर्ने भनिएपनि माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको गत गणना सुचारू हुन सकेकाे छैन ।
शनिबार नेतृत्व चयनका लागि मतदान भए पनि मतगणना भने २ प्रदेशकाे बाँकी छँदै स्थगित भएको छ । मतदानका क्रममा प्रयाेग भएकाे मसीकाे विषयमा एकमत नहुँदा मतगणना हुन नसकेकाे हाे ।
विवाद भएको २४ घण्टा बिते पनि निर्वाचन समितिले समाधान निकाल्न सकेको छैन । निर्वाचन समितिका प्रमुख वरिष्ठ अधिवक्ता मुक्ति प्रधान छन् ।
निर्वाचन समितिले मतदानका लागि रातो मसी भएको कलम प्रयोग गर्ने सहमति भए पनि मतपत्रमा कालो मसी प्रयोग भएको भेटिएपछि विवाद भएको हो । सात प्रदेशको मतगणना सकिए पनि उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना रोकिएको छ । उपत्यका विशेषमा २६४ र विश्लविद्यालय प्रदेशमा २५८ मत खसेको छ ।
अखिल (क्रान्तिकारी)मा संस्थापन र उपमहासचिव जनार्दन शर्मा पक्षबीच कडा प्रतिस्पर्धा छ । सात प्रदेशको मत परिणाम अनुसार संस्थापन पक्षका विजय सापकोटाले ४८५ र शर्मा पक्षका हेमन्त राईले ४६१ मत ल्याएका छन् ।
शर्मा पक्षका उम्मेदवारले मतपत्रमा कालो मसी प्रयोग गरी धाँधली गरेको आरोप लगाएको छ । उसले कालो मसी प्रयोग भएको मतपत्र रद्द हुनुपर्ने अडान लिएको छ ।
सोमबार बिहान विश्वविद्यालय प्रदेश समितिका निर्वाचन समितिका सदस्य अर्जुन अधिकारी र उपत्यका विशेष समितिका निर्वाचन समिति सदस्य जगत पाखरेलले दिउँसो १२ बजेबाट मत गणना सुचारु हुने भन्दै सूचना जारी गरेका थिए । तर शर्मा पक्षका उम्मेदवारले असहमति जनाएपछि मतगणना पुनः सुरु हुन सकेको छैन ।
माओवादी केन्द्रीय सदस्य एवं विद्यार्थी फ्याक्सन इन्चार्ज हिमाल शर्माले मतपत्रमा रातो मसी प्रयोग गर्न भनिएकामा केही मतपत्रमा कालो मसीले रेजा लगाइएको पाइएकाले मतगरणना रोकिएको बताए ।
गत असोजमा ३२ वर्षे उमेर हद लगाउने कि नलगाउने भन्नेमा विवाद हुँदा राष्ट्रिय सम्मेलन नै स्थगित भएको थियो । पुस १४ मा भएको निर्वाचनमा अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा बहुमत आएको थियो । त्यही मत परिणामअनुसार नेतृत्व लिन ३२ वर्ष उमेरमुनिका विद्यार्थी उम्मेदवार भएका थिए ।
अखिल क्रान्तिकारीको विधानअनुसार दुई सय ४३ सदस्य केन्द्रीय समितिमा एक अध्यक्ष, खुला ४, समावेशी ५ गरी ९ उपाध्यक्ष, एक महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष निर्वाचित हुनेछन् ।
प्रतिकृया दिनुहोस