राजनीतिक अस्थिरताले अर्थतन्त्रमा असर पारेको छ: प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पछिल्लो छोटो समयमा देखिएको राजनीतिक अस्थिरताले मुलुकको अर्थतन्त्र, व्यापार र उद्योगलगायतका क्षेत्रमा पारेको बताएका छन् ।
बिहीबार काठमाडौँमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले अर्थतन्त्रमा परेको प्रतिकूल असरबाट लयमा फर्काउन लागिएको पनि बताए ।
'यसबीचको केही अन्तरालको बहुतै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ,' प्रधानमन्त्री ओलीले भने, 'त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समयानुकूल ढङ्गले लयमा फर्काउन, गतिशील बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्याउन चाहन्छौँ ।'
नेपालको आयस्तर न्यून अवस्थामा रहेकाले त्यसमा परिवर्तन ल्याउनका लागि काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले आग्रह गरेका थिए ।
नेपालको सूचना प्रविधि क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले तीव्रताका साथ विकासका कामहरू अघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्रमा पनि उल्लेख्य रूपमा अघि बढिरहेको बताए ।
‘अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्त्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दै छ, अझ तीव्रताका साथ अगाडि बढ्न चाहिरहेको छ,' उनले भने ।
प्रधानमन्त्री ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रूपमा अघि बढाउन सकिने हिसाबले सरकार अघि बढेको बताए । उनले पूर्वाधार नभई देशको विकास हुन नसक्ने पनि बताए । त्यसका लागि सबैको पहल आवश्यक रहेको उनको धारणा थियो ।
प्रतिकृया दिनुहोस