• २०८१ माघ १८ शुक्रबार
  • Friday, 31 January, 2025

किन लिन्छ एनआईसी एशिया बैंकले चेक बाउन्समा मनपरि शुल्क ?

काठमाडौं । दाङका जीवराज बस्नेत काठमाडौंस्थित घट्टेकुलोमा  किराना पसल सञ्चालन गरिरहेका छन् । उनी किराना पसलको हरेक कारोबार एनआईसी एशिया बैंकबाट गर्दै आएका छन् । होलसेलबाट ल्याएको सामानको रकम भुक्तानीका लागि उनले चेक काटेका थिए ।

होलसेल व्यवसायी चेक साट्न बैंकमा पुगे । तर, चेकमा उल्लेख भएजति रकम खातामा थिएन । बैंकले खातावाला बस्नेतको चेकलाई बाउन्समा राख्यो । र, १ हजार रुपैयाँ शुल्क काटेको सन्देश पठायो ।

‘किन एक हजार रुपैयाँ काटेको भनेर बुझ्न जाँदा चेक बाउन्सको शुल्क रहेछ, थोरै रकम कम भएपछि रकम थप्छु । तर, चेक बाउन्समा शुल्क नराख्न अनुरोध गरेँ। तर, बैंकको नीति नै रहेको भन्दै चेक बाउन्सको शुल्क काट्यो,’ बस्नेतले भने ।

नियमित कारोबार गरिरहेका बस्नेत सानो गल्तिलाई सच्याउने अवसर नदिएको र महँगो शुल्क लिएको भन्दै अब उपरान्त उनी सो बैंकमा कारोबार नगर्ने योजनामा छन्। चेक बाउन्सको शुल्कबारे अन्य बैंकमा बुझ्दा ५ सय रुपैयाँ कम रहेको पाएपछि उनले अर्को बैंकमा खाता खोली कारोबार गर्ने तयारी गरिरहेका छन् ।

‘चेक बाउन्सको शुल्क किन यति धेरै महँगो भनेर सोध्दा हाम्रो बैंकको नियम नै यही छ भनेर कर्मचारीहरूले जवाफ दिनुहुन्छ, ५ सय रुपैयाँसम्म ठिकै हो । तर, १ हजार रुपैयाँ काट्यो,’ उनले दुखेसो पोख्दै भने ।’

चेक बाउन्सका शुल्क बैंकअनुसार फरकफरक हुन सक्ने एक बैंकर बताउँछन् । तर, एनआईसी एशिया बैंकले लिएको शुल्क भने महँगो नै रहेको उनको भनाइ छ । सामान्य लागत लाग्ने भएकाले अधिकांश बैंकको उक्त शुल्क ५ सय रुपैयाँभन्दा कम रहेको उनले बताए ।

‘चेक बाउन्समा शुल्क निर्धारण गरिएको छैन, यति रकम तोक्नुपर्छ पनि भनेको छैन । बैंकहरूले आफ्नो स्वेच्छाले तोक्न पाउँछन् । सरदर सबै बैंकले ५ सय रुपैयाँ शुल्क लिन्छन् । अधिकांश बैंकले ५ सय लिने गरेका छन्,’ उनले भने, ‘१ हजार रुपैयाँ शुल्क महँगो नै हो । किनभने सञ्चालन लागत मात्रै लिने हो । विगतमा चेक बाउन्सका मुद्धालाई निरुत्साहित गर्ने हिसाबमा शुल्क तोकिएको हो । तर, पछिल्लो समय चेक बोक्न पनि छाडिसके ।’

एनआईसी एशिया बैंकका कमलादी शाखा प्रबन्धक पुस्पराज जोशीले पैसा कम रहेको चेक बाउन्स भयो भने एक हजार रुपैयाँ शुल्क लिने गरेको बताए । बैंकको व्यवस्थापकको निर्णय भएकाले लागू गर्नुपर्ने उनको भनाइ छ ।

‘हामीले कार्यान्वयन गर्ने हो । गुनासो आफ्नो ठाउँमा ठिक छ । बैंकले सार्वजनिक गरेको दर यही नै हो,’ उनले भने, ‘अन्य बैंकमा २र३ सय रुपैयाँसम्म पनि शुल्क छ । तर, एनआईसी एशिया बैंकको शुल्क यही नै हो ।’

उनका अनुसार यो राष्ट्र बैंकले तोकेको शुल्क होइन । बैंक आफैंले तोकेको हो । यसमा राष्ट्र बैंकले केही सीमा नतोकेको उनले बताए ।

चेक बाउन्सको शुल्कका विषयमा नीतिगत व्यवस्था नरहेको नेपाल राष्ट्र बैंकले बताएको छ । के(के शिर्षकमा शुल्क लिने भनेर राष्ट्र बैंकले स्पष्ट रूपमा उल्लेख गरेको छ । तर, चेक बाउन्समा शुल्क लिनेरनलिने भनेर केही पनि व्यवस्था नगरेको राष्ट्र बैंकको भनाइ छ ।

‘क-के शिर्षकमा शुल्क लिने भनेर कस्ट अफ फिका विषयमा व्यवस्था छ । त्यहाँ उल्लेख भएका शिर्षकबाहेक अन्य शिर्षकमा शुल्क लिन नहुने पनि भनेको छैन,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसो भन्दैमा बैंकहरूले स्वेच्छाले शुल्क लिन पाउँदैन, सामान्यतया चेक बाउन्समा शुल्क लिनुपर्छ भनेर उल्लेख नभएकाले लिन पाउँदैनन् ।’

चेक बाउन्समा शुल्क लिने कि नलिने भनेर उल्लेख नभएकाले बैंकहरूले लागत अनुसार लिन सक्ने उनको भनाइ छ । तर, राष्ट्र बैंकले केही पनि उल्लेख गरेको छैन भन्दैमा अनावश्यक शुल्क लिन नमिल्ने उनले बताए ।

राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक रामु पौडेलले भने, ‘चेक बाउन्सको विषयमा बुझ्नुपर्छ । कतिपय विषयमा हामीले तोकेका छौं । बैंकलाई छुट दिएको हुन सक्छ । राष्ट्र बैंकले तोकेको भए तलमाथि गर्न पाउँदैनन् । बैंकहरूलाई छुट दिएको हुन सक्छ ।’

एनआईसी एसिया बाहेक अन्य बैंकले न्यूनतम एक सय रुपैयाँदेखि अधिकतम् पाँच सय रुपैयाँ शुल्क लिने गरेका छन् । बैंकहरुको अनुसार कृषि विकास बैंकले एक सय रुपैयाँ शुल्क निर्धारण गरेको छ भने एनएमबि बैंकले ५ सय रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले एक सय, प्रभु बैंकले ५ सय, नेपाल बैंकले ४ सय रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५ सय रुपैयाँ, हिमालयन बैंकले ५ सय रुपैयाँ, नेपाल एसबिआई बैंकले २५० रुपैयाँ, एभरेष्ट बैंकले २२६ रुपैयाँ, कुमारी बैंकले ५ सय रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ७ सय रुपैयाँ, सिटिजन्स बैंकले ५ सय रुपैयाँ, प्राइम बैंकले ५ सय रुपैयाँ, सानिमा बैंकले १ सय रुपैयाँ, माछापुच्छ्रे बैंकले ५ सय रुपैयाँ र सिद्धार्थ बैंकले ५ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर