संविधान संशोधनको प्रस्ताव सरकारले ल्याउँछ– ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि सरकारले विधेयक अघि सार्ने बताएका छन् । संघीय संसदको अधिवेशन सुरु भएको आज पहिलो दिन प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै उनले विज्ञहरुसँगको समेत परामर्शमा संविधान संशोधनका विषय अघि बढाउने उनले बताए ।
'यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ । यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ । विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ ।'
उनले थपे, 'पहिचान गरिएका विषयहरुमाथि संसदमा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरु र सरोकारवालाहरुसँग छलफल गरिने छ । हामी स्पष्ट छौं, पार्टीहरुका आ–आफ्नै धारणा र पोजिसन हुनसक्छन् । मिलेका कुरामा साझा धारणा वनाइने छ, नमिलेका कुरामा वहस र छलफल गरिने छ । संविधान संशोधन विधेयक ल्याउने काम सरकारको हो, बहस÷छलफल आधारित निष्कर्षबाट सरकारले साझा धारणा वनाउँछ । र, त्यसैमा आधारित संशोधन प्रस्ताव तयार गर्छ ।'
प्रतिकृया दिनुहोस