उमागौरी सहकारी ठगी: अध्यक्ष रौनियार जेल चलान, ऋषिकेशपत्नी अन्जला थुनामा जानै परेन
विराटनगर । सहकारी ठगी मुद्दामा मोरङको धनपालथान गाउँपालिका –४ मा रहेको उमागौरी कृषि सहकारी संस्थाको अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षको लागि कारागार चलान भएका छन् ।
मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलाशले आइतबार रौनियारलाई पुर्पक्षको लागि कारागार चलनन गर्न आदेश दिएको हो ।
अदालतको आदेशपछि रौनियार पुर्पक्षको लागि मोरङ कारागार चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबादुर बुढाथोकीले जानकारी दिए । सहकारी ठगी मुद्दामा रौनियार मुख्य अभियुक्त रहेका थिए । पक्राउ पुर्जी जारी भएको सय दिनपछि उनी गत सोमबार अदालतमा उपस्थित भएका थिए ।
सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको उजुरी प्रहरीमा आएपछि २ असोजमा अध्यक्ष रौनियारसहितका सञ्चालकविरुद्ध मोरङ अदालतले पक्राउ अनुमति दिएको थियो । पक्राउ अनुमति जारी भएको सूचना चुहिएपछि उनी फरार भएका थिए । सोमबार कानुन व्यवसायीलाई साथमा राखेर अदालतमा उपस्थित भएका उनको बयानपछि थुनछेक बहस भएको थियो ।
तत्काल प्राप्त प्रमाणका आधारमा पछि ठहरेबमोजिम हुने गरी रौनियारलाई कारागार चलानको आदेश भएको हो । अदालतमा उनको बयान तीन दिन लिइएको थियो । गत शुक्रबार बयान सकिएपछि आज थुनछेक बहस भएको हो ।
उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलनमा संलग्न सहकारीका सञ्चालक संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला यसअघि १० लाख रुपैयाँ धरौटीमा थुनामुक्त भएकी थिइन् । सो प्रकरणमा फरार रहेकी उनी पनि अदालतमा आफैं उपस्थित भएकी थिइन् ।
सहकारीका अध्यक्ष रौनियार र सञ्चालक कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
गत २४ पुसमा अदालतमा उपस्थीत भएकी सहकारीको पूर्वसञ्चालक कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् । यस्तै सहकारी ठगीमा मुछिएका रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास, धनपालथान गाउँपालिका–४ का पूर्ववडाध्यक्ष रोशन चौधरी पनि धरौटीमा थुनामुक्त भएका छन् ।
प्रतिकृया दिनुहोस