ठुला लगानीकर्ता, बैंकबाट ऋण लिएर धमाधम सेयर किन्दै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु व्यापक रुपमा सेयर कर्जा विस्तार गरिरहेका छन् । मार्जिन प्रकृतिको कर्जा अर्थात् सेयर धितो कर्जा ३५ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । एक वर्षको अवधिमै यस्तो शीर्षकको कर्जा ३४।९८ प्रतिशत वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले कुल २९ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार गत वर्षको पुस मसान्तसम्ममा बैंकहरुले ८४ अर्ब २९क रोड ३ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने बढेर १ खर्ब १३ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्न लगानीकर्ता निकै आक्रामक देखिएका छन् । विशेषगरि ठुला लगानीकर्ताहरु निकै नै आक्रमक देखिएका छन् ।

राष्ट्र बैंकका अनुसार १ करोड बढी सीमाको सेयर कर्जा लिने ठुला लगानीकर्ता ह्वात्तै बढेका छन् । समिक्षा अवधिमा यस्तो सीमाको कर्जा ४७.०५ प्रतिशत वृद्धि भएको छ । यस्तो सीमामा बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षमै २४ अर्ब १३ करोड ७९ हजार रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । लगानीकर्ताहरुले बैंकबाट सेयर धितो कर्जामा ऋण लिएर बजारमा लगानी थपेको थप्यै छन् ।

केन्द्रिय बैंकले लिएको लचिलो नीतिका कारण ठुला आकारको कर्जा प्रवाह बढेको बताइन्छ। राष्ट्र बैंकले मौद्रिक नीति मार्फत केही नीतिलाई खुकुलो बनाएको छ । त्यसकै प्रभावले सेयर धितो कर्जामा बढोत्तरी देखिएको हो ।

मौद्रिक नीति मार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको छ भने सेयर धितोको जोखिम भार घटाएको छ । यसले लगानीकर्तालाई कर्जा लिन र लगानी बढाउन थप टेवा पुगेको छ ।

अर्को तर्फ बैंकहरुको कर्जाको ब्याजदर पनि निरन्तर घटीरहेको छ । हाल बैंकहरुको कर्जाको ब्याजदर ८ प्रतिशत हाराहारीमै झरी सकेको छ । यस्तो अवस्थामा लगानीकर्ताहरुले बैंकबाट ऋण लिएर धमाधम सेयर बजारमा लगानी थपेको पाइन्छ । यस्तै, सेयर बजार पनि बढ्न थालेको छ, जसले ठुलो रकम लिएर लगानी गर्न लगानीकर्तालाई प्रोत्साहित गरिरहेको बताइन्छ ।

राष्ट्र बैंकका अनुसार पछिल्लो एक वर्षमा ५० लाखलेखि १ करोड सीमाको सेयर कर्जा प्रवाह पनि १२ प्रतिशत वृद्धि भएको छ । गत आवको पुस मसान्तसम्ममा यस्तो सीमाको कर्जा प्रवाह १२ अर्ब ७८ करोड २९ लाख रुपैयाँ रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १ अर्ब ४९ करोड रुपैयाँ बढेर १४ अर्ब २८क रोड १९ लाख रुपैयाँ कायम भएको छ ।

यता, २५ लाखदेखि ५० लाख रुपैयाँ सीमाको सेयर कर्जा पनि उल्लेख्य वृद्धि भएको छ । एक वर्षको अवधिमा नै यस्तो कर्जा २४ प्रतिशत वृद्धि भएको छ । गत पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुले यस्तो सीमामा १६ अर्ब १४ करोड ४७ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यो गत आवको तुलनामा ३ अर्ब १० करोड बढी हो ।

यता, २५ लाख सीमाको सेयर कर्जा प्रवाह पनि दोहोरो अंकले वृद्धि भएको छ । गत वर्षको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले यस्तो सीमाको सेयर कर्जा ७ अर्ब १६ करोड ८० लाख रुपैयाँ प्रवाह गरेका थिए । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने १०।३१ प्रतिशत वृद्धि भई ७ अर्ब ९० करोड ७७ लाख रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर