• २०८१ माघ २३ बुधबार
  • Wednesday, 5 February, 2025

रविलाई संगठित अपराधमा छुटकारा दिने सरकारी वकिलविरुद्ध महान्यायाधिवक्ता कार्यालयले छानविन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको चितवनको सहारा सहकारीको अभियोग दर्ता गर्ने जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलमाथि छानबिन सुरु भएको छ। 

महान्यायाधिवक्ता कार्यालयले अभियोग पत्र दायर गरेको केही घण्टामै मंगलबार नै उनलाई सरुवा गर्ने निर्णय गरिसकेको छ। बुधबार छानविनका लागि समिति गठन गरिएको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले जानकारी दिए। 

लुइँटेललाई महान्यायाधिवक्ता कार्यालयमा तानेर उच्च सरकारी वकिल कार्यालय बुटवलका रवि न्यौपानेलाई पठाइएको छ। 

समितिलाई अभियोजन पत्र अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ। 

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको हो। अभियोजनमा त्रुटि भए नभएको यथासक्दो चाँडो प्रारम्भिक प्रतिवेदन बुझाउन भनिएको दाहालले बताए। 

जिल्ला प्रहरी कार्यालय, चितवनले रविसहितका प्रतिवादीहरूलाई ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो। तर सरकारी वकिलले रविलाई भने संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गर्दै अभियोग पत्र दायर गरेका थिए। 

सहारा चितवन सहकारी प्रकरणमा दोस्रो चरणको अनुसन्धानमा ३२ जनालाई प्रतिवादी बनाइएकोमा जीबी राई, छविलाल जोशीसहित १२ जनालाई संगठित अपराधमा पनि कसुरदार बनाइएको छ। तर लामिछानेलाई भने उक्त कसुर हटाइएको थियो। 

मुद्दा कमजोर बनाएको आरोपमा लुइँटेललाई सरुवा गरेर अनुसन्धान अगाडि बढाइएको हो। आफूविरुद्ध ठगीको आरोपमा अभियोग दर्ता भएपछि लामिछाने बुधबार बिहानै अदालतमा हाजिर भइसकेका छन्। चितवन जिल्ला अदालतमा उनको बयान चलिरहेको छ।

रवि लामिछाने गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक थिए। उनलाई सोही कम्पनीमा गएको रकमको हकमा मात्रै बिगो कायम गरिएको छ। गोर्खा मिडिया नेटवर्कबाट सहकारीको १० करोड ० लाख १ हजार १५१ रुपैयाँ ६ पैसा अपचलन गरिएको अभियोगपत्रमा उल्लेख छ।

यो रकम सेयर सदस्यहरू गितेन्द्रबाबु राई, रवि लामिछाने, छविलाल जोशी र कुमार रम्तेललाई प्रतिवादी बनाइएको छ। यीमध्ये रविबाहेकका प्रतिवादीहरूको भने अन्य कम्पनीमा पनि संलग्नता देखिएको छ। उनीहरूलाई संगठित अपराधमा पनि सजाय माग गरिएको छ। 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर