जनार्दनले मागेकाे युवा र विद्यार्थी हेर्ने जिम्मा, प्रचण्डले दिए शक्ति बस्नेतलाई
![](https://samachardainik.com/uploads/news/images/maobadi_padhadhikari2025-02-03-05-01-00.jpeg)
काठमाडौं । नेकपा माओवादी केन्द्र कार्यविभाजनको संघारमा छ । केन्द्रीय समिति बैठकको म्याण्डेड अनुसार तयार भएको कार्यविभाजन प्रस्ताव केही दिन अघि सोमबार बसेको पदाधिकारी बैठकले लगभग टुंगो लगाएको छ । केही स्थानमा नेताहरुले दिएको सुझाव समेटेर अध्यक्ष प्रचण्डले आन्तरिक सर्कुलर जारी गर्ने तयारी गरेका छन् ।
यसपटक पार्टी जिम्मेवारीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ पनि फर्किएका छन् । पुनलाई आर्थिक तथा कृषि उत्पादन विभागको जिम्मा दिएसँगै उनी सक्रिय राजनीतिमा फर्किए ।
दुई प्रदेशका इन्चार्ज फेरिएका छन् । अध्यक्ष प्रचण्डको सचिवालयलगायत पार्टी हेडक्वाटरको टिम पनि फेरिएको छ ।
पदाधिकारीका जिम्मेवारी र नेतत्व पनि केही हेरफेर भएको एक पदाधिकारीले जानकारी दिए । अखिल क्रान्तिकारीको चुनावबाट केही फाटो आएको चर्चा चलेपनि अध्यक्ष प्रचण्डले सिंगो टिम मिलाएर जिम्मेवारी दिदै अघि बढ्ने तयारी गरेका छन् । तर पार्टी भित्र हुनसक्ने गुटबन्दीबाट पनि प्रचण्ड उत्तिकै सचेत भएको एक नेता बताउँछन् ।
क्रान्तिकारीको चुनावमा उपमहासचिव जनार्दन शर्मा प्यानलका अधिकाँशले जित निकालेपछि अध्यक्ष प्रचण्डले विद्यार्थी र युवा हेर्ने जिम्मेवारीमा भने यसपाली शक्तिबहादुर बस्नेत पठाउने भएका छन् ।
पदाधिकारी बैठकमा शर्माले मुखै खोलेर संगठन विभाग र युवा तथा विद्यार्थीको जिम्मेवारी दिन माग गरेका थिए । तर प्रचण्डले यसअघि हेर्दै आएको संगठन विभाज दिएपनि युवा विद्यार्थीको जिम्मा जनार्दनलाई दिएनन् ।
शर्मालाई संगठन विभागको जिम्मेवारी दिएसँगै अन्तरसंघर्षमा विराम लागेको कतिपयकाे बुझाइ छ ।
पदाधिकारी बैठकमा अध्यक्षले संगठन विभाग प्रमुखमा शर्मालाई, अर्का उपमहासचिव वर्षमान पुनलाई अर्थ सम्बद्ध विभाग र संसदीय मामिला हेर्ने प्रस्ताव गरेका छन् ।
२०७८ पुसमा भएको आठौं महाधिवेशनमा शर्मा र पुन महासचिवका आकांक्षी थिए । शर्मा र पुन दुवैले महासचिवमा दाबी गरेपछि दाहालले देव गुरुङलाई महासचिव चयन गरेका थिए । त्यसपछि असन्तुष्ट बनेका शर्माले पार्टीको आन्तरिक लोकतन्त्र र नेतृत्व हस्तान्तरणको प्रश्न उठाउँदै आएका छन् ।
२०८१ साउनमा शर्माले पार्टीमा आन्तरिक लोकतन्त्रीकरण, पार्टी निर्माण र नेतृत्व हस्तान्तरण, विशेष महाधिवेशन गर्नुपर्ने, कार्यशैली सुधार गर्नुपर्ने लिखित मत स्थायी समितिमा राखेपछि दाहाल र शर्माबीच दूरी बढेको थियो । त्यतिबेला बसेको स्थायी समितिले उनीलगायत अन्य नेताले राखेको मतलाई सातै प्रदेशमा छलफलमा लिएर गएको थियो ।
माओवादी केन्द्रले मधेश र बागमती प्रदेशको इञ्चार्ज परिवर्तन गरेको छ । मधेश इञ्चार्जमा मात्रिका यादव र बागमतीमा हितमान शाक्यलाई तोकेको छ । केन्द्रीय पदाधिकारी बैठकले मधेश इञ्चार्ज लीलामणि पोखरेललाई केन्द्रीय सम्पर्क र समन्वयको जिम्मा दिएको छ । यसअघि बागमतीको इञ्चार्जमा उपाध्यक्ष एवं अग्निप्रसाद सापकोटा थिए ।
प्रदेशमा भने नेताहरूको जिम्मेवारी पुरानै कायम राखिएको छ ।
माओवादीको मधेश प्रदेशमा मात्रिका पक्ष र उपमहासचिव गिरिराजमणि पोखरेलबीच विवादका कारण समस्या हुँदै आएको थियो । लामो छलफलपछि यादवलाई मधेश इञ्चार्ज बनाएको एक नेताले बताए । यद्यपि पोखरेल पक्ष यसमा असन्तुष्ट छ ।
नेताहरू हरिबोल गजुरेल कोशी, दीनानाथ शर्मा गण्डकी, चक्रपाणि खनाल लुम्बिनी, कालीबहादुर मल्ल कर्णाली, गिरिराजमणि पोखरेल सुदूरपश्चिम, जयपुरी घर्ती विशेष प्रदेश, लक्ष्मण पन्त सार्क प्रवास, राम कार्की यूरोप–अमेरिका र ओम शर्मालाई एसिया इञ्चार्ज तोकिएको छ ।
माओवादीले नेपालको सबभन्दा होचो स्थान झापाको कचनकेवलबाट तराई मधेश अभियान सुरु गर्ने निर्णय पनि गरेको छ । फागुन १२ मा हुलाकी राजमार्ग केन्द्रित राजनीतिक अभियान महाकाली पुगेर टुंगिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
त्यस्तै माओवादीले समाजवादी मोडल निर्माण गर्ने भन्दै आफूले जितेका १ सय २३ पालिकाका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिने भएको छ ।
गत केन्द्रीय समितिले आफूले जितेका पालिकामा समाजवादी मोडल बनाउने निर्णय गरेको थियो । माओवादीले जितेका पालिका प्रमुख र उपप्रमुलाई मुख्य गरी सुशासन, सामाजिक न्याय, छिटोछरितो सेवाका लागि प्रशिक्षण दिने छ ।
प्रतिकृया दिनुहोस