अध्यादेश पास गर्न ओली–देउवालाई उपेन्द्रका २ विकल्प, मुख्यमन्त्री कि उपप्रधानसहित स्वास्थ्यमन्त्री
काठमाडौं । सघीय ससदबाट अध्यादेश पास गर्न सत्ता पक्षलाइ कठिन भइरहेका बेला निर्णायक भूमिकामा रहेकाे जसपा नेपालले दुइ विकल्प अघि सारेकाे छ ।
सत्तारूढ दलहरू नेपाली (कांग्रेस) र नेकपा (एमाले)को प्रतिष्ठाको विषय बन्दै गइरहेको अध्यादेश बिहीबार (आज) को संसद् बैठकमा निर्णयार्थ प्रस्तुत भएन।
अध्यादेश पास गर्न राष्ट्रिय सभामा निर्णायक दल जनता समाजवादी पार्टी, नेपालले ठोस जवाफ नदिएपछि सरकार पछि हट्यो र आजको संसद्मा निर्णयार्थ प्रस्तुत हुने अध्यादेश कार्यसूचीबाट हटायो।
सत्तारूढ दलहरूका लागि प्रतिनिधि सभामा समस्या नभए पनि राष्ट्रिय सभामा भने अङ्कगणितीय समस्या छ। सरकारमा रहेका दलहरू कांग्रेस, एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग मात्रै राष्ट्रिय सभामा सिट छ।
उनीहरूका पनि कांग्रेस १६, एमाले १० र लोसपा १ गरी जम्मा २७ सिट मात्रै पुग्छ। जबकि ५९ सदस्यीय राष्ट्रिय सभामा बहुमतका लागि कम्तीमा ३० सांसदको समर्थन चाहिन्छ। जसपा नेपालसँग ३ सिट छ। अध्यादेश पास हुनका लागि सत्तापक्षलाई जसपा नेपालको समर्थन अनिवार्य छ।
यही भएर यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पालैपालो फोन गरेर अध्यादेश पास गरिदिन बिन्ती बिसाएका थिए। त्यसलगत्तै पार्टीका नेता राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन कार्यदल बनाएका उपेन्द्रले 'बार्गेनिङ' सुरु गरेका छन्।
कार्यदलले बिहीबार (आज) प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदनको सारबारे सोध्दा जसपा नेपालका प्रवक्ता मनीष सुमनले बताउन नमिल्ने बताए। 'जिम्मेवारीमा म पनि थिएँ, जिम्मेवारीमा भइसकेपछि उत्तरदायित्व पनि पालना गर्नुपर्छ। यसबारे अहिले बताउन मिल्दैन,' उनले भने।
तर, एमालेका एक नेताले बताएअनुसार भने अध्यादेशमा सघाउनका लागि उपेन्द्र यादवले दुईवटा विकल्प प्रस्तुत गरेका छन्। पहिलो- सङ्घमा उपप्रधानसहित गृह वा स्वास्थ्य मन्त्रालय पाउनुपर्ने र दोस्रो- उपप्रधानसहित गृह वा स्वास्थ्य नपाए मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने।
आज बिहान उपेन्द्रले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए। त्यस क्रममा पनि उपेन्द्रले त्यही कुरा राखेको ती नेताको भनाइ छ। ती नेताले भने, 'अध्यादेश पास गर्ने तर, सङ्घमा भए उपप्रधानसहित गृह वा स्वास्थ्य मन्त्रालय र त्यो नभए मधेसको मुख्यमन्त्री भन्ने कुरा राख्नुभयो रे! तर, यी विषय राजनीतिमा सामान्य कुरा हुन्।'
जसपा नेपाल अहिले सङ्घ वा प्रदेश दुबैतिर सरकार बाहिर छ। करिब ७ महिनाअगाडि सङ्घीय सरकारबाट बाहिरिएका उपेन्द्रले यही मौका पारेर 'बार्गेनिङ' सुरु गरेका छन्। उनी पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्यमन्त्री थिए। तर, आफू अमेरिका हुँदा नेपालमा पार्टी विभाजन भएपछि उनी तत्कालै सरकारबाट बाहिरिए। तर, जसपा नेपालले असार ३० गते ओलीको नेतृत्वमा बनेको सरकारलाई विश्वासको मत भने दिएको छ।
यही मौका पारेर उपेन्द्रले सरकारमा जाने सुनिश्चितता खोजेका छन्। एमालेले भने अहिलेलाई अध्यादेशमा सहयोग गर्न र अर्को आवधिक निर्वाचनपछि मधेस सरकारको नेतृत्व गर्न प्रस्ताव पठाएको छ। तर, उनले त्यहाँ समर्थन जनाएका छैनन्।
प्रतिकृया दिनुहोस