नेसपामा नेतृत्व चयन प्रक्रिया सुरु, बाबुरामलाई नेत्रको टक्कर

काठमाडौं । डा बाबुराम भट्टराइकाे एकल नेतृत्व जस्तै रहेकाे नेपाल समाजवादी पार्टी (नयाँशक्ति) को नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ।
अहिले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको निर्वाचन आयोग प्रमुख रामकुमार पुरीले जानकारी दिए। ९९ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि साढे ३ सय भन्दा धेरैको उम्मेदवारी परेको छ। उनका अनुसार उम्मेदवारको दाबी विरोधका लागि बिहान साढे ९ बजेसम्मको समय दिइएको छ।
त्यसपछि ११ बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिने पुरीले बताए। उम्मेदवारको अन्तिम नामावली अनुसार मतपत्र छाप्नुपर्ने भएकाले दिउँसो ३ बजेबाट मतदान गराउने तयारी रहेको आयोगले जनाएको छ।
देशभरका १ हजार ३ सय २० जना प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मताधिकार प्रयोग गर्नेछन्। धेरैजसो पदमा एकल उम्मेदवारी परेकाले सर्वसम्मत हुने अवस्था देखिएको उनले बताए।
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ।
नेत्रले सशक्त दाबी प्रस्तुत गरिरहँदा पार्टीका अरु नेता भने पार्टी अध्यक्षमा डा. बाबुराम भट्टराईको विकल्प देख्दैनन्। प्रवक्तासमेत रहेका नेता कृष्ण शर्मा भन्छन्, ‘जसको नीति, उसकै नेतृत्वको मर्मअनुसार अगाडि बढ्छौँ। अहिलेका लागि पार्टीमा डा. बाबुराम भट्टराईको विकल्प तयार भइसकेको छैन।’
अर्का एक नेता त आफू डा. बाबुराम भट्टराईलाई मात्रै नेता मान्ने बताउँछन्। तर, नेत्र भने अध्यक्ष भट्टराईकै अर्थ्याइअनुरूप आफूले अध्यक्षको उम्मेदवारी दिने ढिपी कसेका छन्। भट्टराईले वैकल्पिक राजनीतिको नेतृत्व युवाबाट नै सहज रूपमा हुने बताउँदै आएको उल्लेख गर्दै उनले भने, ‘पार्टीका सबै पदाधिकारी निर्वाचनबाट आउनुपर्छ भन्ने हाम्रो नीति नै हो। यहीअनुरूप मैले पनि अध्यक्षमा उम्मेदवारी दिन्छु।’
उमेरका हिसाबले बाबुराम नेत्रभन्दा दोब्बरका हुन्।
विसं २०११ सालमा जन्मिएका बाबुराम २०८१ सम्म आउँदा ७० वर्ष पुगे। नेत्र भने भर्खर ३५ वर्ष पुगेका छन्। उनी शिक्षा अभियन्तासमेत हुन्।
दलित उपाध्यक्षमा दूर्गा सोब र महिला उपाध्यक्षमा मानुषी यमी भट्टराइको एकल उम्मेदवारी परेको पुरीले बताए।
महासचिवमा ३ र सचिवमा ७ जनाको उम्मेदवारी परेको छ। महासचिवमा घमानसिंह गुरुङ, सोनाम सिंह स्याङ्तान र राजु नेपालको मनोनयन दर्ता भएको छ।
कोषाध्यक्ष पदमा हरिप्रसाद रिजाल र गोकर्णप्रसाद अधिकारीले उम्मेदवारी दिएका छन्।
प्रतिकृया दिनुहोस