पर्यटनमन्त्री पाण्डेलाई कारबाही गर्न कांग्रेसमा उजुरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री बद्री पाण्डेमाथि कारबाहीकाे डण्डा चलाउन माग गरेका छन् । उनीविरुद्ध विभिन्न ४ आरोपसहित पार्टी केन्द्रीय अनुशासन आयोगमा उजुरी गरेका छन् ।
पाण्डेले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा चिनियाँ शासन प्रणालीका राष्ट्रपति सी जिनपिङको विचारधाराको पक्षपोषण गर्नुको साथै कांग्रेसको सिद्धान्त, संविधान र राष्ट्रिय हितविपरीत बोलेको बजगाईँको आरोप छ ।
बजगाईँले भने, 'मन्त्री पाण्डेले योजनाबद्ध रूपमा आफ्नो पदलाई दुरुपयोग गर्दै मेरोविरुद्ध लक्षित सामाजिक सञ्जाल अभियान सञ्चालन गरेका छन्, जसको उद्देश्य सार्वजनिक धारणा प्रभावित पार्दै मेरो विश्वसनियतालाई कमजोर बनाउनु हो ।
आत्म-न्यायप्रियताको आवरणमा उनले सञ्चारमाध्यमहरूमार्फत रणनीतिकरूपमा आफूलाई सबैभन्दा सफा व्यक्ति भनेर स्थापित गर्ने प्रयास गरेका छन्, जबकि उनले नेपालको राष्ट्रिय हितलाई प्रत्यक्ष रूपमा कमजोर पार्ने निर्णयहरू लिएका छन्। योजनाबद्ध ढंगले उनले नेपाली स्वामित्वको कम्पनीलाई विभाजित गरेका छन्, कानुनी प्रक्रिया उल्लङ्घन गर्दै जथाभावी क्यासिनो इजाजतपत्र वितरण गरेका छन्, र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन्-जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ।
मिडिया प्रचारबाजीमा मात्र सीमित नरही, पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन्। उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने प्रयास गरिरहेका छन्। मलाई दबाउने, आलोचनात्मक आवाजलाई थुन्ने, र आफ्नै नियन्त्रण मजबुत बनाउने उनको यो रणनीति केवल एउटा व्यक्तिगत बदनाम गर्ने अभियान मात्र होइन-यो सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारको विरोध गर्नेहरूलाई दबाउने संगठित षड्यन्त्र हो।'
कांग्रेसमा यी दुइ नेताबीचकाे अन्तरकलह याे नयाँ हाेइन । यसअघि पनि सांसद बजगाँइले मन्त्री पाण्डेलाइ भ्रष्टाचारकाे अाराेप लगाएका थिए ।
प्रतिकृया दिनुहोस