भुटानमा स्टारलिंकको सेवा सुरु
![](https://samachardainik.com/uploads/news/images/starlink2024-12-18-09-18-34.jpeg)
काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको कम्पनी स्टारलिंकले छिमेकी राष्ट्र भूटानमा स्याटलकम सेवा सुरु गरेको छ । यो कम्पनी उपग्रह स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्छ ।
मस्कले स्वयंले यसबारे जानकारी दिएका हुन् ।
यो कम्पनीले पहिलो पटक नोभेम्बर २०२० मा अमेरिकाभित्र उपग्रहमार्फत इन्टरनेट सेवा सुरु गरेको थियो । त्यसपछि करिब १०० देशहरूमा यसको सेवा विस्तार भइसकेको छ ।
गत महिना कम्पनीले लाइबेरिया र तुवालुमा आफ्नो सेवा सुरु गरेको थियो र यो महिना भुटानमा पनि स्टारलिंकको सेवा उपलब्ध भएको छ ।
स्टारलिंकले भारतमा पनि स्याटकाम सेवा सुरु गर्नका लागि आवेदन दिएको छ । तर अहिलेसम्म सरकारबाट लाइसेन्स प्राप्त गर्न सकेको छैन ।
नेपालको अवस्था के छ ?
गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मस्कसँग भर्चुअल संवाद गरेका थिए ।
संवाद अगाडि स्टारलिंकले नेपालमा स्याटेलाइटबाट इन्टरनेट सेवा प्रदान गर्ने विषयमा चासो देखाएको जनाइएको थियो । ओलीले मस्कसँग सोही विषयमा छलफल गरेको हुनसक्ने आशंका गरिएपनि प्रधानमन्त्री निवासले यसबारेको विवरण उपलब्ध गराएको थिएन।
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङसँग भेटवार्ता गरी कम्पनीकी निर्देशक रेबेका हन्टरले नेपालमा काम गर्न रुचि देखाएको बताएकी थिइन् । प्रधानमन्त्री ओलीसँग पनि यही विषयमा संवाद भएको अनुमान छ ।
प्रतिकृया दिनुहोस