युद्धविरामपछि १३ नेपाली ‘केयरगिभर’ इजरायल उडे

काठमाडौं । गाजा युद्धविरामपछि इजरायलको ‘हेरचाह तथा स्याहार क्षेत्र’ मा सहायक कामदार (केयरगिभर) को लागि पहिलो चरणका नेपालीहरू इजरायल प्रस्थान गरेका छन् । वैदेशिक रोजगार विभागले प्रकाशित गरेको दोस्रो पटकको सूचनापछि छनोट भएका मध्येबाट पहिलो चरणका १३ नेपाली इजरायल उडेका हुन् ।
गत अगस्ट महिनामा इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा आप्रवासन प्राधिकरण कार्यालयमा आयोजित एक लाइभ लटरी प्रक्रियामार्फत एक हजार १५६ महिला र ९५६ पुरुषसहित कुल २ हजार ११२ जना चयन गरिएका थिए । बाँकी एक हजार ११२ जना कामदारको भिसा प्रक्रिया अगाडि बढाइएको हो ।
उनीहरूमध्ये ९ सय १९ जनाको स्वास्थ्य परीक्षण भइसकेको विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले जानकारी दिए । उनका अनुसार हाल सम्म दुई सयभन्दा धेरै कनट्याक्ट आइसकेको छ । उनीहरूलाई पनि भिसा आएपछि क्रमशः पठाइनेछ । हालसम्म केयरगिभरका लागि एक हजार तीन सय श्रमिकहरू इजराइल पुगिसकेको विभागको तथ्याकं छ ।
नेपालले वर्षौदेखि इजरायलमा केयरगिभरका रूपमा कामदार पठाउँदै आएको छ । प्रायः नेपाली त्यहाँका ज्येष्ठ नागरिकको स्याहारका लागि जाने गरेका छन् । भाषा तथा दक्षतालगायतका परीक्षण पूरा गरेका नेपाली कामदारलाई सरकारले इजरायल जान अनुमति दिएको विभागका अधिकारीहरू बताउँछन् । मंगलबार इजरायलमा केयरगिभरका लागि उडेका १३ जना नेपालीलाई विभागका महानिर्देशक सूर्यबहादुर खत्री र एचई नेपालका लागि इजरायलका राजदूत श्मुलिक आरी बासले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।
इजरायल सरकारी सूचनामा जनाइएअनुसार इजरायल जाने कामदारले त्यहाँको नियमानुसार साताको ६ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसबाहेक अतिरिक्त समय काम गर्दा इजरायलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने व्यवस्था छ । नेपाली कामदारले मासिक तलब नेपाली दुई लाख रुपैयाँ हाराहारीमा र केहीले काम गरेको समयावधि बढी भएकाले त्योभन्दा बढी पाउने गरेका छन् ।
प्रतिकृया दिनुहोस