माओवादीले नेतृत्व गरेका पालिका नमुना बनाउनुपर्छ: प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माणसम्बन्धी अभिमुखीकरणको उद्घाटन गर्दै उनले माओवादी केन्द्रले नेतृत्व गरेका सबै पालिका नमुना बन्नुपर्ने र टाढैबाट फरक छन् भनेर चिनिने बनाउनुपर्ने बताए ।
स्थानीय तहबाट समाजवादी अर्थतन्त्र, संस्कृति र शैलीको थालनी गर्न पुरानैको निरन्तरता होइन, नयाँको थालनी गर्ने बेला आएको उल्लेख गर्दै उनले यो रणनैतिक सिफ्ट भएको बताए ।
समाजवादको सैद्धान्तिक बहसलाई व्यावहारिक रूपमा स्थानीय तहबाट निर्माण गर्दै लैजाने निर्णय गरेको उनको भनाइ छ । स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने र विभिन्न अभियानमार्फत जनतालाई अपिल गर्ने पार्टी निर्णय कार्यान्वयन सुरु भएको प्रचण्डको भनाइ छ ।
पार्टीले आठौँ महाधिवेशनबाट अघि सारेको नेपाली विशेषताको समाजवाद निर्माण गर्ने मर्मका साथ पार्टीले नेतृत्व गरेका कयौँ स्थानीय तहले उत्कृष्ट नतिजा दिँदै आएको उनको दाबी छ ।
अब विदेशीको नक्कल गरेर नभइ आफ्नै विशेषतामा विकास अघि बढाउनुपर्ने उनको भनाइ छ । आउने पीँढीको भविष्यलाई समेत ध्यान दिएर नेपाली समाजमा अग्रगामी विकल्प दिनुपर्ने दायित्व माओवादीको काँधमा आएको उनले बताए ।
पछिल्लो केही समय आवश्यकताभन्दा बढी सहकार्य र समीकरण गर्दै जाँदा आफ्नो वर्ग र समुदायसितको सम्बन्ध कमजोर भएको गम्भीर आत्मसमीक्षा गरेर आफ्नै वर्गमा फर्कनुपर्छ र पार्टीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने निष्कर्षमा पुगेर नयाँ अभियान थालिएको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस