बीमा प्राधिकरणले सोमबार नयाँ अध्यक्ष पाउन सक्ने सम्भावना बलियो ?

काठमाडौँ। बीचमा कुनै अनपेक्षित घटनाक्रम विकास भएन भने आगामी सोमबार नेपाल बीमा प्राधिकरणले नयाँ अध्यक्ष पाउने लगभग निश्चित भएको छ।
प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि छानिएका उम्मेदवारहरूले अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका छन्।
उक्त नियुक्तिका लागि सिफारिस समितिले पाँच जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गर्दै शनिबारका लागि प्रस्तुतिकरण र अन्तर्वार्तामा बोलाएको थियो।
शनिबार दिउँसो २ बजेदेखि सुरु भएको अन्तर्वार्ता र प्रस्तुतिकरण साँझ ६ बजेसम्म चलेको थियो। संक्षिप्त सूचीमा समेटिएका पाँचै जना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि सहभागी भएका थिए।
‘नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको नियुक्तिका लागि नेपाल सरकार समक्ष नाम सिफारिस समिति’ ले यही फागुन ५ मा गोरखापत्रमा सूचना प्रकाशित गर्दै पाँचजना प्रतिद्वन्दीको नाम सूचीकृत गरेको थियो।
उक्त संक्षिप्त सूचीमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम प्रकाशित भएको थियो।
यिनै पाँचजनालाई शनिबार प्रस्तुतिकरण र अन्तर्वार्ताको निम्ति बोलाइएको थियो। यसै सिलसिलामा आज सिंहदरबार स्थित अर्थमन्त्रालयमा करिब चार घण्टा अन्तर्वार्ता र प्रस्तुतिकरण भएको हो मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
अर्थ मन्त्रालयका सञ्चार सल्लाहकार भुवन केसीका अनुसार पाँचै जना प्रतियोगीको उपस्थितिमा शनिबार अन्तर्वार्ता सम्पन्न भएको हो।
अब उक्त सिफारिस समितिले शनिबार साँझ नै नेपाल सरकार समक्ष तीन जनाको नाम सिफारिस गर्ने बताइएको छ।
उम्मेदवारहरूमध्ये सबैभन्दा राम्रो कार्ययोजना प्रस्तुत गर्ने शीर्ष तीनजना उम्मेदवारको नाम सरकार समक्ष सिफारिस गरिने अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
त्यसपछि सम्भवत आगामी सोमबार बस्ने मन्त्रिपरिषदको नियमित बैठकले तीनमध्ये कुनै एकजनालाई नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना छ।
प्रतिकृया दिनुहोस