• २०८१ फाल्गुण १६ शुक्रबार
  • Friday, 28 February, 2025

साना पार्टीले अस्थिरता निम्त्याउँछन्: पोखरेल

काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि आगामी निर्वाचनमा बिनागठबन्धन एक्लाएक्लै चुनाव लड्ने बताएका छन् ।

एमाले पेसागत विशेष जिल्ला कमिटीले आज काठमाडौंमा आयोजना गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उनले गठबन्धन गर्दा साना पार्टी संसद्मा रहिरहने र तिनले अस्थिरता सिर्जना गरिरहने जिकिर गरे । 'त्यसको अन्त्य हुनुपर्छ भन्ने मान्यताका साथ हामी एक्लाएक्लै चुनावमा जान्छौं,' महासचिव पोखरेलले भने ।

राजनीतिक दलले मुलुक बनाउन नसकेको नभई मुलुक बनाउने परिस्थिति निर्माण नहुँदा समस्या भएको उनको भनाइ थियो । विभिन्न बहानामा देशमा उत्पन्न हुने समस्याका कारण राजनीतिक दलले सम्पूर्ण ध्यान विकास निर्माणमा लगाउन नपाएको पनि उनले बताए ।

'२०७४ मा राजनीतिक दलले काम गर्ने वातावरण तयार भए पनि त्यतिबेलाको सरकारले राम्रोसँग काम गर्न पाएन । कमजोर धरातलमा गरिएको एमाले र माओवादी एकतापछि बनेको नेकपा र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि काम गर्न समस्या भयो,' उनले भने ।

उनले देश आर्थिक रूपमा कमजोर र सामाजिक रूपमा अराजक बन्दै गएपछि थप समस्या उत्पन्न हुन नदिन दुई ठूला राजनीतिक दल मिलेर काम गर्न थालेको बताए । 'लगानीको वातावरण तयार भएको छ । ब्याजदर घटेको छ । पुँजीगत खर्च वृद्धि भएको छ । पहिलेभन्दा कर उठ्न थालेको छ । मोटामोटी आर्थिक सूचक सुधारोन्मुख छ,' उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर