माओवादी नै सक्कली मधेशवादी: अध्यक्ष प्रचण्ड

जनकपुरधाम । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेशवादी माओवादी नै भएको दाबी गरेका छन् । अब सक्कली र नक्कली मधेशवादी छुट्याउने समय आएको बताउँदै माओवादी नै सक्कली मधेशवादी भएको उनले दाबी गरेका हुन् ।
'जनतासँग माओवादी, तराई मधेश जागरण अभियान'अन्तर्गत सप्तरीको राजविराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवासँगको अन्तर्कियामा प्रचण्डले मधेशवादी भनिएका दलहरूको गतिविधि जनतातिर वा मधेशको हिततर्फ नभएको आरोप लगाएका हुन् ।
माओवादी जनयुद्धकै पृष्ठभूमिमा मधेश आन्दोलन सम्भव भएको पनि उनको भनाइ छ । मधेशवादी दल बिस्तारै विघटनतर्फ हिँडेको र जनतासँग गरेको प्रतिबद्धता पूरा गर्न सक्ने स्थितिमा देखा नपरेको समेत उनले बताएका छन् । माओवादी आन्दोलन र मधेशका शक्ति एकठाउँमा केन्द्रित नभए देश अस्थिरता,अराजकता र आर्थिक रूपमा एउटा भयानक दुश्चर्कमा फस्ने खतरा रहेको उनको भनाइ छ ।
संघीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे । अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए।
राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट गरे ।
नेपालमा सबैभन्दा पुरानो सडकको रुपमा हुलाकी मार्ग रहेको भए पनि राज्यले अलपत्र पारेको अवस्थमा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उनले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रचण्डले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको जानकारी दिए । मधेसमा सिँचाइ, मल बीउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्णरुपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
जनयुद्धमा रामराजाप्रसाद सिंहको सहयोगको स्मरण गर्दै माओवादीले मधेश र मधेशीलाई सम्मान गर्न गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार रामराजाप्रसाद सिंहलाई बनाएको पनि उनले बताए । 'माओवादीले रामराजाप्रसाद सिंहलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको उम्मेदवार बनायो तर आफूलाई मात्र मधेशीका नेता ठान्ने केही नेताले नै सिंहलाई राष्ट्रपति बन्न रोके,' प्रचण्डले भने ।
त्यस्तै माओवादीका वरिष्ठ उपाध्यक्ष नाराययणकाजी श्रेष्ठले वर्तमान सरकार निरकुंश बनेको आरोप लगाए ।
सामाजिक सञ्जाल विधयेक ल्याएर सरकारले बोल्न र लेख्न नदिने मनशाय राखेको उनको आरोप छ ।
त्यसैगरी नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले संघीयताको रक्षा मधेशवादी दलबाट सम्भव नरहेको बताए ।
प्रतिकृया दिनुहोस