• २०८१ फाल्गुण २३ शुक्रबार
  • Friday, 7 March, 2025

सचिवले मागिन् स्वास्थ्यमन्त्री पौडेलको राजीनामा

काठमाडौं । डा‌. संगीता कौशल मिश्रले स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूमाथि अन्याय गरेको बताएकी छिन् । बुधबार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सचिवमा डा. विकास देवकोटालाई नियुक्त गरेपछि डा. मिश्रले असन्तुष्टि व्यक्त गरेकी हुन् । 

डा. रोशन पोखरेल फागुन ११ गते उमेरहदका कारण अवकाशमा गएपछि नयाँ सचिव नियुक्तिका लागि बढुवा समितिले डा. मिश्रसहित ३ जनाको नाम सिफारिस गरेको थियो । समितिले वरीयताका आधारमा डा. मिश्र, डा. देवकोटा र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।

नेपाल स्वास्थ्य सेवा ऐन-२०५३ को दफा १९ मा सचिव नियुक्तिसम्बन्धी प्रावधान छ । उक्त प्रावधानमा स्वास्थ्य सेवाको बाह्रौं तहमा कार्यरत र एघारौं तहमा कम्तीमा पाँच वर्ष काम गरेका कर्मचारी ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव पदमा नियुक्त हुन सक्ने व्यवस्था छ ।

पहिलो नम्बरमा सिफारिस मिश्र हाल मन्त्रालयमै अतिरिक्त सचिवको जिम्मेवारीमा छिन् । २०५७ सालमा स्वास्थ्य सेवा प्रवेश गरेकी उनी बीचमा 'ग्याप' गरेर पुन: खुला प्रतिस्पर्धामार्फत २०७० सालमा सरकारी सेवामा फर्किएकी थिइन् । खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकालेकी उनले कोशी अस्पताल तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

२०८० भदौ १३ देखि करिब एक वर्ष स्वास्थ्य सेवा विभागको महानिर्देशकको भूमिका निर्वाह गरी मन्त्रालयमा आएकी उनले कुनै समय मन्त्रालयमै प्रवक्ताका रूपमा पनि काम गरिन् । दोस्रो नम्बरमा सिफारिस भएका देवकोटा भने स्वास्थ्य सेवा विभागका महानिर्देशकको जिम्मेवारीमा थिए ।

२०५३ सालमा सेवा प्रवेश गरी २०७९ चैत १३ गते १२औं तह अर्थात् अतिरिक्त सचिवमा बढुवा भएका उनले लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए । २०८१ असोज ६ देखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेका थिए ।

२०५६ सालमा सेवा प्रवेश गरेका बाराकोटी भने २०७९ चैत १३ मा नै १२औं तहमा बढुवा भएका थिए । त्यसअघि उनी प्रदेशिक अस्पताल भद्रपुरमा मेडिकल सुपरिटेन्डेन्ट हुँदै मन्त्रालयमा आएका थिए । १२औं तहमा बढुवाका आधारमा बाराकोटी र देवकोटाभन्दा मिश्र १० महिना सिनियर हुन् ।

आफू कार्यसम्पादन र ज्येष्ठताका आधारमा अगाडि भए पनि महिला भएकैले स्वास्थ्यमन्त्री पौडेलले हेपेको डा. मिश्र बताउँछिन् ।  

२०८१ असोजमा डा. देवकोटालाई स्वास्थ्य विभागको महानिर्देशक बनाएपछि डा. मिश्र मन्त्रालय तानिएकी थिइन् । उनले आफूलाई मन्त्री पौडेलले नै महानिर्देशकबाट हटाएको दाबी गरिन् । उनलाई तत्कालीन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले २०८० भदौमा विभागको महानिर्देशकको जिम्मा दिएका थिए ।

बुधबारको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार स्वास्थ्यमन्त्री पौडेलले बैठक अगावै प्रधानमन्त्रीलाई सचिव नियुक्तिको प्रस्ताव लगेका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर