विदेशीको आडमा राजावादी सक्रिय भएकाले प्रतिरोध गर्ने माओवादी निर्णय

काठडमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले विदेशीको आडमा अहिले देशमा राजावादीहरु सक्रिय भएको निचोड निकालेको छ ।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशीता जस्ता संविधानका उपलव्धी जोगाउन माओवादीले पश्चगामी अभियानको प्रतिरोध गर्ने निर्णय पनि गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा शनिवार भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोगले गम्भीर अवस्था देखिएकाे समीक्षा गरेको हाे ।
सोमबार अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा पूर्वराजाको सक्रियता आफ्नै बलबुतामा नभई विदेशी शक्तिको आडमा प्रतिगामी शक्ति सलबलाएको विषयमा समीक्षा भएको महासचिव देव गुरुङले बताए ।
‘गणतन्त्रलाई कमजोर बनाउन प्रतिगमनकारी शक्ति सलबलाएको देखिन्छ । यो गम्भीर विषय हो । राजावादी प्रतिगामीको जुलुसमा आदित्यनाथको फोटो बोकेर हिँडेको छ । बाह्य शक्तिको उक्साहटमा पूर्वराजा सक्रिय भएको हुनसक्छ’, उनले भने, ‘राष्ट्रियतालाई कमजोर पार्न र माओवादीले लडेर ल्याएको व्यवस्था उल्टाउन देशी विदेशी शक्तिहरूले खेल्न खोजेको देखिन्छ । केपी ओली सरकारको जनविरोधी गतिविधिका कारण राष्ट्रियता थप सङ्कटमा परेको छ । अहिले नै गणतान्त्रिक व्यवस्था धरापमा परेको हामीले निष्कर्ष निकालेका छैनौँ । तर राष्ट्रियता, स्वाभिमानलाई बचाउन देशभक्त, वामपन्थी, गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आउनुको विकल्प छैन ।’
बैठकले सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाविरुद्ध अभियान चलाइएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकपछि निर्णय सुनाउँदै सापकोटाले बैठकमा तराई-मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताए।
उनले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गरे।
उनले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गरे। जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताए।
माओवादीले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियताकाे शसक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ।त्यसका लागि समाजवादी मोर्चामा रहेका दलसँग छलफल गरेर कार्यक्रम तय गर्ने तयारी छ। बैठकले ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको पनि गरेकाे छ।
त्यसका लागि माओवादीका शीर्षसहितका नेताले सोमबार नै समाजवादी मोर्चामा रहेका दलसँग छलफल गर्दैछन्।
प्रतिकृया दिनुहोस