एमालेले पत्र बुझ्नै मानेको थिएन, राप्रपाले बुझायो १ लाख जरिवाना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । दरबारमार्गमा कार्यक्रम गर्दा भएको फोहोरका लागि महानगरले यसअघि प्रधानमन्त्रीको दल नेकपा एमालेलाई पनि एक लाख जरिवाना गरेको थियो । तर त्यतिबेला एमालेले पत्र बुझ्नै मानेको थिएन । 

आज राप्रपाले भने महानगरको जरिवानालाई सहज रुपमा लिँदै एक लाख तिरेको हो । यसअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नै फोहोर गरेको भए जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका थिए । आज राप्रपा दलका प्रमुख सचेतक सांसद ज्ञानेन्द्र शाहीसहितको टोलीले जरिवाना बुझाएको हो । 

हिजो पूर्व राजा ज्ञानेन्द्रको स्वागतका लागि पनि विमानस्थल क्षेत्रमा सांसद शाही नै पुगेका थिए । 

राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले फेसबुकमा तस्बिर राख्दै लेखेका छन्, 'हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं । राजाको स्वागतमा आएका लाखौं आमाबुवा दाजुभाइ बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान् । महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्दछौं l रु १ लाख रुपैयाँ हामीले काठमाडौँ महानगरपालिकाको खातामा दाखिला गरेका छौं ।'

काठमाडौँ महानगरले राप्रपा केन्द्रीय कार्यालयलाई पठाएको पत्रमा ‘मिति २०८१ फागुन २५ गते ताहाँ पार्टी कार्यालयवाट आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुबाट एयरपोर्ट, तिलगंगा गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र सोमा रहेका बिरुवाहरु साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला समेत गरि वातावरण प्रदुषण गरेकोले तपाईलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम रु. एक लाख जरिवाना गरिएको’ उल्लेख छ।

पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट फर्किएको अवसर पारेर राजावादीहरूले आइतबार काठमाडौँमा स्वागत गर्दै नाराजुलुस लगाएका थिए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर