माघसम्म वाणिज्य बैंकहरूले ३६ अर्ब नाफा आर्जन

चालु आर्थिक वर्षको माघसम्म नेपालका वाणिज्य बैंकहरूले कुल ३६ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको ७ महिनाको वित्तीय विवरणअनुसार, २० वटा वाणिज्य बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा १।६२ प्रतिशतले घटेको देखिन्छ।

समीक्षा अवधिमा ९ वटा बैंकको नाफा बढ्दा ११ वटाको घटेको छ। सर्वाधिक नाफा कमाउने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। बैंकले माघसम्म ४ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.६२ प्रतिशतले बढी हो।

दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ, जसले ३ अर्ब ९८ करोड नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४५.०१ प्रतिशतले वृद्धि भएको छ। तेस्रो स्थानमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ, जसको नाफा ४४.५२ प्रतिशतले वृद्धि भई ३ अर्ब ४३ करोड पुगेको छ।

अन्य बैंकहरूमध्ये एभरेष्ट बैंकको नाफा २ अर्ब ५७ करोड, नेपाल बैंकको २ अर्ब ४५ करोड, एनएमबि बैंकको २ अर्ब ३४ करोड र प्राइम बैंकको २ अर्ब १८ करोड रहेको छ। नेपाल बैंकको नाफामा उच्च वृद्धिदर (१५६.३१५) देखिएको छ भने प्राइम बैंकको नाफा १४.३१ प्रतिशतले घटेको छ।

स्ट्यान्डर्ड चार्टर्ड, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र सानिमा बैंकले क्रमशः १ अर्ब ८३ करोड, १ अर्ब ८३ करोड, १ अर्ब ५८ करोड, १ अर्ब ४७ करोड र १ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, कृषि विकास, कुमारी, र एनआईसी एसियाको नाफामा गिरावट देखिएको छ। विशेषगरी, एनआईसी एसिया बैंकको नाफामा सबैभन्दा ठूलो गिरावट आएको छ, जसको नाफा ७८.३१ प्रतिशतले घटेर ४६ करोड रुपैयाँमा सीमित भएको छ।

समग्रमा, केही बैंकहरूको नाफा उल्लेख्य रूपमा बढे पनि अधिकांश बैंकहरूले कमजोर वित्तीय प्रदर्शन गरेका छन्। उच्च ब्याजदर, तरलता व्यवस्थापनका चुनौती र ऋण प्रवाहमा आएको सुस्तता यसका मुख्य कारण रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर