‘मरिच ठूलो रुखमा फल्छ’ भन्ने प्रधानमन्त्री ओलीको भनाई ‘ट्रोल’

विराटनगर । प्र्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरुमा विभिन्न प्रदेशका सभाहरुमा आफ्नो मन्तव्य दिदै हिडिरहेका छन् ।
उनले पाँच दिनको अन्तरालमा तीन वटा प्रदेश सभा बैठकलाई सम्बोधन गरे । ओलीले फागुन ५ गते लुम्बिनी प्रदेश सभालाई सम्बोधन गरे । फागुन २३ गते कर्णाली प्रदेश सभालाई सम्बोधन गरे ।
फागुन २५ गते सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गरेका उनले फागुन २७ गते कोशी प्रदेश सभालाई सम्बोधन गरेका हुन् ।
ओलीले प्रदेशका सभाहरूमा विभिन्न राजनीतिक तथा समाजिक विषयहरूमा बाेलिरहेका हुन्छन् । संघीयता कार्यान्वयन, ऐतिहासिक, धार्मिक, प्राकृतिक विषयवस्तुमै बढी चर्चा उनले गरेको पाइन्छ ।
प्रधानमन्त्रीलाइ संघीयताप्रति कम प्रतिवद्ध रहेकाे भनेर कतिपयले आलाेचना पनि गरिरहेका छन् । कुनै बेला उनले प्रदेशहरू भनेका संघका इकाइहरू हुन् भने टिप्पणी गरेका थिए ।
जुन संघीयताकाे मर्म र सिद्धान्त भन्दा फरक थियाे । तर उनी त्यसलाइ खण्डन गर्ने प्रयास गरिरहेका हुन्छन् । संघले आफूहरूलाई अधिकार नदिएकै कारण प्रदेश सरकारप्रति जनताको सोच नकारात्मक बन्दै गएको गुनासो प्रदेश सरकारहरूले गर्दै आएका छन् ।
कोशी प्रदेश सभामा मंगलबार उनले करिब सवा घण्टा सम्बोधन गरे । हिमाल, नदीनाला, ऋषि, महर्षिहरूको व्याख्या गर्दागर्दै उनले विष्णु भगवान् पनि कोशीमै जन्मेको भन्न भ्याए ।
यसअघि उनले चितवनको ठोरीमा राम जन्मिएको भनेर दिएको अभिव्यक्ति ‘ट्रोल’ बनेको थियो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सत्ययुग, त्रेता युग, द्वापर युगको व्याख्या र कोशी प्रदेशका हलेंसी, बर्जुताल जोड्दै उनले कोशी नामको बारेमा समेत चर्चा गर्न भ्याए ।
प्रधानमन्त्री ओलीले अहिलेसम्म गाडी नपुगेको संखुवासभाको किमाथांकामा गाडी पुगेको दाबी पनि गरे । उनले भने, ‘आज ओलाङचुङ गोलामाथि टिपतालसम्म मोटर छिचोलेर गएको छ । ओलाङचुङ गोलासम्म सडक पिच गर्दैछौँ । कोशी करिडोर किमाथांकाबाट बाटो वारपार गरिसक्यो । अब पक्की हुनमात्रै बाँकी छ । गाडी किमाथांका पुगेर त्यहाँका जनताले खुसी मनाइसके, पूजा गरिसके ।’
त्यतिमात्रै हाेइन उनले किसानहरूलाइ काजु, मरिचकाे खेती गर्न पनि सुझाव दिए । त्यतिसम्म त ठिकै थियाे ।
जव उनले मरिचबारे चर्चा गर्न थाले साे विषय अहिले सामाजिक सञ्जालमा ट्राेल बनिरहेकाे छ । उनले मरिचकाे ठूलाे रूख हुन्छ । कतिपय सांसदहरूले नदेखेकाे पनि हुन सक्छ, भनेर काेशी प्रदेश सभामा भनेका थिए ।
मरिच ठूलो रुखमा नभई सानो झालमा फल्ने गर्दछ ।
प्रतिकृया दिनुहोस