समाजवादी मोर्चाले १५ गते काठमाडौंमा वृहत जनसभा गर्ने

काठमाडौं । प्रतिपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत जनसभाको आयोजना गर्ने भएको छ ।
आज (शुक्रबार) बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले जानकारी दिएका छन् ।
उनले भने, ‘१५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने । हजारौंको सहभागितालाई सुनिश्चित बनाउने निर्णय भएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’
यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ ।
दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने उनले जानकारी दिए । अन्तर्क्रिया भोलि बिहान ११ बजे ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा हुनेछ।
'जनताका विरूद्ध, स्वाधीनता र जनताका अधिकारका विरूद्धमा गणतन्त्र र समाजवादका विरूद्धमा भइरहेका षड्यन्त्र भइरहेका छन्। गडबढी गर्ने मानसिकताको पछिल्लो दिनमा भद्दा ढंगले देखिन थालेको छ। यही विषयमा केन्द्रीत गरेर अन्तर्क्रिया गर्ने लागेका हौं,' उनले भने।
मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शन र विरोध सभा गर्दैछ। त्यसलाई सफल बनाउने विषयमा पनि छलफल भएको नेता प्रकाण्डले बताए।
जसपा नेपाल फुटेपछि उपेन्द्र यादव बैठकमा जान छाडेका छन्। बैठकमा उपस्थित नभएपनि समर्थन कायम रहेको नेता प्रकाण्डले बताए।
'उपेन्द्र यादवसँग पनि छलफल चलिरहेको छ। उहाँसँग कुरा हुँदा समर्थन रहेको बताउनुभएको छ। सहभागीताको कुरा पनि छलफल गर्यौं भने सम्भव हुन्छ,' प्रकाण्डले भने।
उनले भने, ‘पछिल्लो परिस्थितिको समीक्षा गरेका छौं । विषय धेरै गम्भीर छ । परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको छ । जटिल बनाउने कसरतहरु भइरहेका छन् । कार्यक्रमको बारेमा केही सोचेका छौँ, केही भनेका पनि छौँ । १५ गतेको वृहत बिरोध प्रदर्शनलाई भव्य बनाउने । प्रतिगामी कदम र हर्कतलाई असफल गर्नेगरी कार्यक्रम गर्ने ।’
प्रतिकृया दिनुहोस