• २०८१ चैत २ शनिबार
  • Saturday, 15 March, 2025

कांग्रेस नेता केदारनरसिंहले सरकारी जग्गा हडपेकाे देखियाे 

काठमाडौँ । तारकेश्वर नगरपालिका–९, मनमैजुस्थित लोकतान्त्रिक चोक नजिकै बाँसको झ्याङ सहितको जंगलजस्तो कम्पाउन्ड देखिन्छ । अग्लो कम्पाउन्डले घेरिएको यो जग्गा हो, कांग्रेस नेता एवं नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष रहेका डा. केदार नरसिंह केसीको ।

केसीले झन्डै नौ आना सरकारी जग्गासमेत ओगटेर निजी कम्पाउन्ड लगाएको आवाज संसद्‌मा उठेपछि उनले सरकारी जग्गा दुरुपयोग गरेको विषय सार्वजनिक भयो ।

बुधबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू शिशिर खनाल र सुमना श्रेष्ठले काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत तारकेश्वर–९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको बताएका थिए । 

रास्वपाका सासंदहरुले कित्ता नम्बर ६२ र ६३ को जग्गा केसीले कब्जा गरी भोगचलन गर्दै आइरहेको स्थानीयको गुनासो रहेको बताएका थिए । तर रास्वपा सासंदले भनेजस्तो ठ्याक्कै नभए पनि ६२ नम्बर कित्ताको सरकारी जग्गा केसीको कम्पाउन्डभित्र देखिन्छ ।  

सरकारी जग्गा कसरी व्यक्तिको कम्पाउन्डभित्र पुग्यो त ? २०४९ सालमा केसीले जग्गा किनेका थिए । उनीसँग भएको लालपुर्जामा ६६, ६७ र ६२ कित्ता नम्बर गरेर १५ सय २३ दशमलव १० वर्गमिटर जमिन भएको देखिन्छ । तर अहिले उनको घर सहितको कम्पाउन्डभित्र कित्ता नम्बर ६३ को सरकारी जग्गा २ सय ६३.६१ वर्गमिटर पनि छ ।

मालपोत कार्यालयबाट प्राप्त कागजातअनुसार २०७६ साउन १७ मा मालपोत नियमावली २०३६ नियम ४ ख बमोजिम गठित तत्कालीन मनमैजु मालपोत कार्यालयका प्रमुख प्रवीणमान प्रधान, मनमैजु नापी कार्यालयका प्रमुख युवराज आचार्य र मनमैजुकै मालपोत अधिकृत विजय प्रकाश गिरीले निर्णय गर्दै केसीको कित्ता नम्बर ६१ सँग ६२ साटफेर गरेको देखिन्छ । उक्त निर्णयको कागजातमा त्यो समयमा केसीले राम्रोसँग साँध सिमाना छुट्ट्याउन नसेको भन्दै भोगचलनअनुसार जग्गा सट्टापट्टा गरेको उल्लेख गरिएको छ । यो कागजातले पनि ६३ नम्बरको कित्ता उनको नरहेको प्रस्टै देखाउँछ ।

उनले अहिले पर्खालभित्र रहेको ६३ नम्बर कित्ताको जग्गामा ढिस्को भएको ढिस्कोमा रहेको जग्गा थेग्नका लागि स्थानीय र जनप्रतिनिधिसमेतको रोहवरमा जमिन किनेको केही समयपछि कम्पाउन्ड सहितको पर्खाल लगाइएको बताए । उनले पर्खालभित्र नेपाल सरकारको सडकको जमिन पनि पर्छ भने आफूलाई पछि मात्र थाहा भएको दाबी गर्दै यस्तो जानकारी हुनासाथ आफ्नो जग्गा एकिन गरेर सरकारी जग्गा छुट्ट्याउन वडामा निवेदन दिएको पनि बताए ।

तर, तारकेश्वर–९ का वडाध्यक्ष श्यामकृष्ण महर्जन वडामा यस्तो कुनै पनि निवेदन नपरेको बताए । ‘हामीले नै उहाँलाई सार्वजनीक जग्गाको जानकारी गराएका थियौँ । छलफलमा त जग्गा छाडिदिन्छु नै भन्नुहुन्छ । तर, व्यवहारमा छाड्नुभएको छैन,’ उनले भने, ‘यस जग्गाको संरक्षणका लागि हामीले ८ लाख रुपैयाँ बजेट नै छुट्याएका छौं । तर उहाँले छाड्न आलटाल गर्दा तारबारसमेत लगाउन सकिएको छैन ।’ 

तत्कालीन मनमैजु गाउँ विकास समितिका उपाध्यक्ष लबकुमार बस्नेतले त्यतिबेला सहमतिमै सरकारी जग्गाभित्र पर्ने गरी पर्खाल लगाइएको बताए ।  

मालपोत कार्यालय मनमैजुका प्रमुख मालपोत अधिकृत नरेन्द्र पौडेलले सरकारी जमिन केसीको कम्पाउन्डभित्र रहेको बताए ।  

मालपोत कार्यालय मनमैजुले गत साउन १६ मा तारकेश्वर नगरपालिकालाई पत्र नै लेखेर कित्ता नम्बर ६२ मा समस्या नभएको बरु कित्ता नम्बर ६३ को २६३.६१ वर्गमिटर जग्गा नेपाल सरकारका नाममा यस कार्यालयको मोठ श्रेस्तामा जनिएको उल्लेख गरेको देखिन्छ । यो पत्रले पनि उनको कम्पाउन्डभित्र सरकारी जग्गा रहेको बुझिन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर