• २०८१ चैत ३ आइतबार
  • Sunday, 16 March, 2025

महामन्त्री गगने भनेः पूर्वविशिष्टलाई राज्यले सुरक्षा दिनुपर्छ, पैसा दिन रोक्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वविशिष्टहरूलाई कानुन बनाएर सुरक्षा दिनुपर्ने बताएका छन्।

शनिबार पाँचथरको तुम्बेवा महोत्सव २०८१ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पूर्वविशिष्टको सुरक्षा सम्बन्धमा कानुन बनाउने र सोही अनुसारको सुविधा प्रदान गर्नुपर्ने बताएका हुन्।  

त्यस सम्बन्धमा सरकारले पहिला कानुन बनाउँछु भनुपर्छ। त्यही कानुनबाट नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सेनापति, सभामुख भइसकेका व्यक्तिहरूलाई राज्यले दिनैपर्ने न्यूनतम सुरक्षाको कुरा दिन्छु भन्नुपर्छ,' महामन्त्री थापाले बताए। तर पैसा दिन भने रोक्नुपर्ने थापाले बताए।

ढुकुटीमा अत्यन्त धेरै दबाब छ। त्यसकारण सरकारले चाहेको बेलामा मन्त्रिपरिषदबाट निर्णय गरेर जति चाह्यो त्यति पैसा दिने लामो समयदेखिको अभ्यासलाई कानुन बनाएर रोक्नुपर्छ।  पैसा बाँड्ने कानुन होइन,  पैसा रोक्ने कानुन बनाउनुपर्छ,' उनले भने।

अहिलेको अवस्था सरकारले भएको सेवा सुविधा पनि कटौती गर्नुपर्ने परिस्थिति रहेको थापाले बताए।

'यो बेलामा हाम्रो सेवा सुविधा कटौती गरेर, प्रधानमन्त्रीले,मन्त्रीले, सांसदले, गाउँपालिकाले सबैले व्यक्तिगत रूपमा आफूलाई खुम्च्याएर आम नागरिकका लागि काम गरिरहेका छौं भन्नुपर्ने बेला हो। नागरिकहरूले पनि त्यही भनेका छन्,' उनले भने।

त्यसकारण ठीक समयमा ठीक ढंगले विषयवस्तुलाई बुझाउन सक्नुपर्नेमा पनि महामन्त्री थापाले सरकारलाई सचेत गराए।

आफू स्वास्थ्य मन्त्री हुँदा आएको विशिष्टहरूलाई उपचार खर्च दिने विषय पनि कानुन बनाएर  समाधान गरिएको उनले बताए।

'रोक्ने भनेको कानुन बनाएर हो। मै प्रस्तावक भएर संसदबाट कानुन बनाइयो। र कानुनमा मुलुकबाहिर उपचारका लागि एक रूपैयाँ पनि राज्यको ढुकुटीबाट लिएर जान पाइँदैन भन्ने व्यवस्था गरियो,' उनले भने।

कानुनको दुरूपयोग हुने कोशिस भए त्यसलाई अदालतले रोक्ने महामन्त्री थापाले बताए।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर