कुलमानको सक्रियताः मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारणलाइन एक महिनाभित्र सक्न ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारणलाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।

निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो, हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।

१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको मागबमोजिम विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्त्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एवं मध्यभोटेकोशी जलविद्युत् कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाषकुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारणलाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ ।

मध्यभोटकोशी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रवाह हुने तामाकोशी–काठमाडौं केभी प्रसारणलाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारणलाइन निर्माण अन्तिम चरणमा छ । प्रसारणलाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरू खडा भइसकेका छन् । करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ ।

४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारणलाइनलाई तत्काल २०० केभीमा सञ्चालन (चार्ज)मा ल्याएर मध्यभोटेकोशीको विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा समाहित गरिनेछ । उक्त लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ ।

कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नुपर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ । प्रसारणलाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका– २ चौकटामा जारी तार तान्ने कामको समेत टोलीले निरीक्षण गरेको थियो ।

हिउँदयामको विद्युत् भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठुलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैँ फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रूपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीव्र रूपमा अगाडि बढाउन निर्देशन दिए ।

बाह्रबिसे नगरपालिका– ५ स्थित मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्विचयार्डबाट सोही नगरपालिका– ३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारणलाइन निर्माण भइसकेको छ ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारणलाइन निर्माण गरिएको हो । बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये दुईवटाको मात्र निर्माण बाँकी रहेको छ । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर