यौन दुर्व्यवहारको आरोप लागेका संग्रौलामाथि छानबिन हुने, समिति गठन

काठमाडाैं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका पूर्वमहान्यायाधिवक्ता तथा काठमाडौं स्कुल अफ ल (केएसएल) का कार्यकारी निर्देशक डा. युवराज संग्रौलामाथि छानबिन हुने भएकाे छ ।
कलेजका विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि संग्रौलामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको हो ।
पूर्वन्यायाधीश श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरिएको कलेज प्रशासनले जनाएको छ ।
गत फागुन २४ गते राति काठमाडौं स्कुल अफ लकी एक विद्यार्थीले सामाजिक सञ्जालमा पोस्ट गर्दै कलेजमा विद्यार्थीहरूलाई यौन दुर्व्यवहार हुने गरेको आरोप लगाएकी थिइन् ।
उक्त पोस्टमा ती विद्यार्थीले कलेज प्रशासनले आफ्नो निवेदनमाथि छानबिन प्रक्रिया अगाडि नबढाएको र कुनै सुनुवाइ नभएको भन्दै तत्काल निर्देशकलाई निलम्बन गरी छानबिन अगाडि बढाउन पनि माग गरेकी थिइन् ।
कलेज प्रशासनले भने निवेदन प्राप्त गरेको केही दिनपछि नै कलेजमा परीक्षा सुरु भएकाले छानबिन केही ढिलो भएको बताएको छ ।
यता कार्यकारी निर्देशक संग्रौलाले भने आफू विरुद्ध विद्यार्थीले लगाएको आरोप तथ्यहीन र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति भएको बताएका छन् । घटनाबारे स्पष्टीकरण दिन कलेजले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै संग्रौलाले आफ्नो चरित्र हत्या गर्न परिचालित विद्यार्थीले सामाजिक सञ्जालमा यौन दुर्व्यवहार भएको आरोप लगाए ।
कानुनका विद्यार्थीले चलाउने फेसबुक पेज लयर्स रुम रिलोडेड (एलआरआर) ले केएसलमा पढेका र त्यहाँ पढ्दा भोगेको उत्पीडन, दुर्व्यवहार र अन्य प्रकारका गलत व्यवहारबारे अनुभव साझा गर्नका निम्ति गुगल फर्म नै सार्वजनिक गरेको छ । जसमा आफ्नो परिचय गोप्य राखेर आफूले भोगेको दुर्व्यवहारहरूको कथा बताउन सकिनेछ । जसमा ३२ जनाले केएसएल पढ्दा आफूले भोगेको दुर्व्यवहार र हिंसाका घटना उल्लेख गरेका छन् ।
यस घटनाबारे ऐक्यबद्धता जनाउँदै सन् २००५ यता त्यहाँ पढेका १०३ जना पूर्वविद्यार्थीले आफ्नो परिचयसहित र ४७ जनाले परिचय गोप्य राख्ने सर्तमा हस्ताक्षरसहितको विज्ञप्ति जारी गरेका छन् ।
जसमा उनीहरूले हालै एक विद्यार्थीले कलेजभित्र हुने दुर्व्यवहार, यौन उत्पीडनबारे खुलेर आवाज उठाउने साहस देखाएको भन्दै उनले अघि सारेका मुद्दाहरू ऐक्यबद्धता जनाउने बताएका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'अपमानजन्य, हेपाइजन्य र यौनजन्य टिप्पणीका अलवा यौन तथा लैंगिक अल्पसंख्यकविरुद्धका अभिव्यक्ति र व्यवहारहरू कुनै पनि संस्थामा स्वीकार्य हुन सक्दैन । ती छात्राले उठाएको आवाज व्यक्तिगत प्रतिरोध मात्रै नभएर न्याय, समानता र पारदर्शीतामा विश्वास राख्ने सबैको आह्वान हो ।'
एक विद्यार्थीले आफूले पनि लैंगिक अल्पसंख्यकमाथि संग्रौलाको दृष्टिकोण अनुदार भएको बताएकी छिन् ।
यस घटनाले केएसएलमा पहिलो वर्ष पढ्दाको १० दिने आवासीय क्याम्पको सम्झना गराइदियो भन्दै फेसबुकमा उनले लेखेकी छिन्, 'त्यो कक्षामा युवराज सरले सोध्नुभयो- तपाईंहरूमध्ये कतिले लैंगिक तथा यौनिक अल्पसंख्यको अधिकारलाई सर्मथन गर्नुहुन्छ ?' विद्यार्थीहरूले लैंगिक अल्पसंख्यकहरूको मुद्दामा समर्थन गर्ने बताए ।
प्रतिकृया दिनुहोस