• २०८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025

सरकार फेरिने चर्चाबीच एमाले सचिवालय बैठक बस्दै 

काठमाडौं । राजनीतिक बृत्तमा नयाँ तरंग सृजना भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमाले सचिवालयको बैठक बस्न लागेको छ । 

पछिल्लो समय राजतन्त्र फर्काउन खोज्नेहरु, संघीयता विरोधीहरु सल्बलाइरहेका बेला गणतन्त्रवादीहरुको संयुक्त सरकार बनाउनु पर्ने चर्चा समेत सुरु भएको छ । 

यस्तो अवस्थामा आज एमाले सचिवालय बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बस्ने अध्यक्ष केपी ओलीको सचिवालयले जानकारी दिएको छ । 

राजनीतिक रंगमञ्चमा पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकार बनाउने कसरत सुरु भएको नेताहरूले बताएका छन्।

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाबारे भेटेरै छलफल नै भइरहेको छ।

ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्रवादी दलहरूलाई तर्साउने गरी आफू चुप नबस्ने बताएपछि नेताहरू गणतन्त्र जोगाउनकै लागि एकै ठाउँमा हुनुपर्ने निचोडमा पुगेको माओवादी केन्द्रका एक नेताले बताए। 

लोकतान्त्रिक गणतन्त्रमा पुगेको नेपाललाई फेरि पञ्चायती व्यवस्थातर्फ फर्काउने उल्टो बाटो हिँड्न नदिन दलबीच न्यूनतम सहमति र सहकार्य हुनुपर्ने कुरा उठेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संवाद सुरु भएको छ। काँग्रेसका एक नेताले भने दोस्रो र तेस्रो तहका नेताहरूबीच मात्र छलफल भएको बताए। 

केही समययता सरकारप्रति आक्रामक माओवादी केन्द्रले कांग्रेस–एमालेप्रतिको रवैया फेरेको छ। अब कांग्रेस–एमालेमाथि आक्रामक नभई व्यवस्था रक्षाका विषयमा केन्द्रित हुने माओवादीका एक नेता दाबी गर्छन्।

पछिल्लो समय अध्यक्ष प्रचण्डको पूर्वराजा विरोधी चर्को अभिव्यक्तिलाई उदाहरणका रुपमा पेश गर्दै उनले भने, ‘अब पूर्वराजा र राजावादीमाथि प्रहार केन्द्रित हुन्छ।’

एमालेका नेताहरूले खुलेरै भारतले प्रधानमन्त्री केपी ओलीलाई हटाउन जोड गरिरहेको बताएका छन्। कांग्रेसलाई छिटो सत्ताको नेतृत्व दिलाउन प्रयास भइरहेको उनीहरूको भनाइ छ।

तथापि, कांग्रेस सभापति देउवाले अहिलेसम्म त्यसलाई अस्वीकार गरिरहेको उनीहरू दाबी गर्छन्।  

आइतबार बिहान नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजालले सामाजिक संजाल फेसबुकमा परराष्ट्र मन्त्री आर्जू देउवा राणा ६ दिनदेखि भारतमा बसिरहेकोमा ब्यंगात्मक टिप्पणी गरेका गरे ।

समाजिक संजाल फेसबुकमा उनले लेखेका छन्, ‘परराष्ट्रमन्त्री डा. आरजु देउवा ६ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लो पटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेइजिङमा चिनियाँ विदेशमन्त्री भेट्न नौ दिन खर्चिनुभएको थियो । देशभित्र काम कति गर्नुहुन्छ भन्ने त थाहै छ तर दुनियाँले के भन्छ भनेर लोकलाजको त अलिकति ख्याल गर्नुपर्ने हो । यस्ता परराष्ट्मन्त्रीहरूले भारत र चीनका समकक्षीहरूसँग कुरा गर्दा कत्तिको समान हैसियत (इक्वायल फुटिङ) मा कुरा गर्दा हुन् र उनीहरूले कति महत्व दिँदा हुन् भन्ने यसैबाट स्पष्ट हुन्छ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर