• २०८१ चैत ४ सोमबार
  • Monday, 17 March, 2025

लुम्बिनीमा देखियको ‘आशाको ज्योति’

लुम्बिनी । लुम्बिनीस्थित पुरानो राजकीय विहार मा ९ देशका १५ ठाउँबाट संकलन गरी ल्याइएको दीप (बत्ती) को सम्मिश्रणबाट ‘फ्लेम अफ होप’ (आशाको ज्योति) बालिएको छ । नेदरल्यान्ड्स, जापान, अमेरिका, इटाली, फ्रान्स, इजरायल, भारत, नेपाल र प्यालेस्टाइनका विभिन्न ठाउँबाट संकलित दीपको सम्मिश्रणबाट दीप बालिएको हो । 

बुद्ध जन्मस्थल मायादेवी मन्दिरदेखि पूर्वमा रहेको राजकीय विहारमा बौद्ध परम्पराअनुसार थेरबादी, महायानी र चिनियाँ भिक्षुले मंगल पाठ गरेर दीप प्रज्वलन गरिएको छ ।

दीपले सधैं एकनासले प्रकाश दिइरहने भिक्षु सागर धम्मले बताए । ‘संसारमा यस्ता दीप विरलै हुन्छन्,’ उनले भने । लुम्बिनीमा हिरोसिमा, नागासाकी, जिसस क्राइस्ट जन्मस्थललगायत स्थानबाट पनि दीप संकलन गरी ल्याएर बालिएका छन् ।

दीप संकलन गरेर लुम्बिनीमा बाल्ने काम ६९ वर्षे जापानी भिक्षु रेक्यु इन्दोले गरेका हुन् । जापानी थेरापी उपचार पद्धति जेन सियत्सुका विज्ञ र प्रशिक्षक भएर विदेश घुम्दा शान्तिका लागि सानो भए पनि काम गर्ने विचार आएको उनले बताए । ‘सन् २०१४ मा प्यालेस्टाइनमा ३ वर्षे बालिकाको दुवै खुट्टा बमले क्षतविक्षत भएको देख्दा निकै पीडा भयो । त्यसपछि शान्तिका लागि केही अभियान चलाउनुपर्छ भन्ने लाग्यो,’ उनले भने ।

सन् २०१५ मा रेक्युले आणविक बमले क्षतविक्षत बनेको नागासाकी–हिरोसिमा–क्योटो–टोकियो शान्ति साइकल यात्रा गरेका थिए । ठाउँठाउँमा शान्तिबारेमा प्रवचन गर्दै १ हजार ३ किलोमिटर साइकल यात्रा दुई साता लगाएर पूरा गरेको उनले बताए ।

उनले २०१९ मा जापानको नागासाकीबाट शान्ति दीप संकलन सुरु गरेका थिए । लुम्बिनीमा हिरोसिमाको शान्ति दीप, जापानको होसिनोमा बलिरहेको आणविक ज्वाला, जिसस् क्राइस्ट जन्मिएको मानिने ‘चर्च अफ द नेटिभिटी’बाट निस्कने बेथलेहमको शान्ति ज्योति, ओलम्पियादेखि नागासाकीसम्मको प्रतिबद्धताको ज्वाला र याद बासेम जेरुसलमको बाह्य ज्वाला समावेश गरिएको छ ।

भिक्षु रेक्युका अनुसार रंगभेद र असमानताविरुद्ध अहिंसावादी आन्दोलनका अगुवा तथा नोबेल शान्ति पुरस्कार विजेता मार्टिन लुथरकिङका नाममा अमेरिकामा स्थापित ‘द किङ सेन्टर’को दीप, फ्रान्सको लुर्ड्समा रहेको पवित्र मानिने एपेरिसन गुफाको दीप, जापानको मियाजिमास्थित माउन्ट मिसेनमा रहेको रेकाडो मण्डपमा १२ सय वर्षअघिदेखि बलिरहेको मानिएको कुकाई दीप, भारतको दिल्लीस्थित राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा राखिएको दीप र नेदरल्यान्ड्सको वागेनिंगेनमा रहेको फ्रिडम फायरको दीप पनि समावेश छ ।

त्यस्तै जापानको होङगान जी विहारमा रहेको ४ सय ५० वर्ष पुरानो दीप, इटालीको असिसीमा रहेको शान्तिको प्रतीकात्मक दीप, नेपालको लुम्बिनीमा रहेको अखण्ड शान्ति दीप, जेरुसलमबाट ल्याइएको पवित्र एस्टरको ज्वाला र भारतको मुम्बईस्थित ओभल ग्राउन्डमा रहेको भीमराज अम्बेडकरको प्रतिमा नजिक राखिएको अखण्ड दीप पनि समावेश गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर