आज नयाँ आईजीपी बनाउँदै सरकार, ३ जनामा को बन्ला ?

काठमाडौं । नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर सोमबारदेखि अवकाशमा जाँदै छन्। उनीसहित ५ एआईजी र ३ डीआईजी पनि अवकाशमा जान लागेका हुन्।
प्रहरीमा रहेको ३० वर्षे सेवा अवधिको कारण आईजीपीसहित अन्य ९ प्रहरी अधिकारी सेवानिवृत्त हुन लागेका हुन्।
हालका आईजीपी अवकाशमा जाँदै गर्दा ३१औं आईजीपी को बन्ला भन्ने चासो देखिएको छ। नयाँ आईजीपीका लागि तीन जना एआईजीहरू प्रतिस्पर्धामा छन्। एआईजी दीपक थापा, टेकबहादुर तामाङ र सुदीप गिरी आईजीपीको दाबेदार हुन्।
२०७९ चैत १० गते नेपाल प्रहरीको नेतृत्व सम्हालेका कुँवरले दुई वर्ष बढी करिब ८९ हजार फौजको कमान्ड सम्हालेका छन्। आईजीपी कुँवर प्रहरी संगगठनमा हुँदा खासै विवादमा आएनन्। आईजीपी कुँवरसँगैै एआईजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरुङ, दुर्गा सिंह, कुबेर कडायत र जनक भट्टराई पनि अवकाशमा जाँदै छन्।
उनीहरूकै ब्याची डीआईजीहरू गणेश चन्द, भोला रावल र धुवराज राउत पनि चैत ४ गते राति १२ बजेबाट अवकाश हुन लागेका हुन्।
आईजीपीको अवकाशसँगै सोमबार नै नयाँ आईजीपी बनाउने सरकारको तयारी छ। त्यसका लागि मन्त्रिपरिषद्को बैठक सोमबार बोलाइएको छ। प्रहरी मुख्यालयमा सोमबार नै आईजीपी कुँवरको बिदाइ कार्यक्रम राखिएको छ।
प्रहरीको ३१ आईजीपीको दाबेदारमा एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धी हुन्।
थापा हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख हुन्। गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख र र तामाङ उपत्यका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारीमा छन्। एआईजी ३ जना नै २०५२ भदै १९ गते प्रहरी सेवामा प्रवेश गरेका हुन्।
सीआईबी प्रमुख थापा २०७९ चैत ६ गते एआईजीमा बढुवा भएका थिए। त्यसको १८ दिनपछि २०७९ चैत २४ गते सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बनेका थिए।
वरिष्ठताको आधारमा गिरी र तामाङभन्दा थापा अघि छन्। मन्त्रिपरिषद्को बैठकले मेरिट लिस्टका आधारमा आईजीपी नियुक्त गरेमा थापा नै ३१औं नम्बरको आईजीपी हुने सम्भावना छ।
पहिलो नम्बरमा रहेका थापा फिल्ड कमान्डमा अनुभवी मानिन्छन्। गिरीसँग विशेष ब्युरोमा लामो समय काम गरेको अनुभव छ। लामो समय अपराध अनुसन्धान विभागमा बसेर काम गरेको अनुभव एआईजी तामाङसँग छ।
प्रतिकृया दिनुहोस