• २०८१ चैत ५ मंगलबार
  • Tuesday, 18 March, 2025

राजा फर्काउन बन्न लागेको संयुक्त समितिबारे राजावादी भित्रै लफडा, लिङदेनले मानेनन्

काठमाडौं । राजा फर्काउन बन्दै सबै राजावादी समेटेर बनाउन लागिएको संयुक्त समितिबारे राजावादी भित्रै लफडा सुरु भएको छ ।

पुराना राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा यस्तो समिति बन्न लागेको थियो । तर यस्तो समितिलाई राप्रपाले अस्वीकार गर्ने भएको छ । 
 
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनस्र्थापनाका लागि राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदी नेतृत्वको समितिमा आफू नरहेको बताएका छन् । उनले समिति गठनको प्रक्रियामा राप्रपा सामेल नभएको र व्यक्तिगतरुपमा आफूलाई नसोधिएको पनि स्पष्ट पारेका छन् ।

लिङ्देनले सुवेदी नेतृत्वमा गठित समितिलाई राप्रपाले अपनत्व नलिने र त्यसमा रहेका राप्रपा नेताहरूका बारेमा पार्टीमा छलफल हुनेसमेत बताए । 
 
उनले समान विचार रहेका समूहहरू थपिएर राप्रपालाई असर नपर्नेसमेत बताए ।  

यसअघि राजावादी दलहरु पूर्वराजा ज्ञानेन्द्र शाहले आह्वान गरेअनुसार राजसंस्था पुनर्स्थापनाको आन्दोलनका लागि राप्रपाका वरिष्ठ नेता एवं राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा मोर्चाबन्दीका लागि तयार भएकाे बताएका थिए । 

८६ वर्षीय उनले राजावादी आन्दोलनको मोर्चा सम्हाल्नेछन् ।   

सुवेदीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका शीर्ष नेताहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, धवलशमशेर राणा, पूर्वमन्त्री केशरबहादुर विष्ट, राजावादी अभियानका दुर्गा प्रसाईंलगायतसँग परामर्श गरिसकेकाे भनिएपनि त्यसाे हुन नसकेकाे देखिएकाे छ ।  

०४६ पछि राजनीतिमा सार्वजनिक रूपमा सक्रिय नदेखिएका सुवेदीले पूर्वराजा शाहको इच्छाअनुसार मोर्चाको नेतृत्व गर्न लागेको बताइएकाे थियाे । 

कतिपय नेताहरूले सुवेदीले अभियानकाे नेतृत्व गर्न नसक्ने उनी बुढाे भइसकेकाे तर्क गरेका थिए ।   

पूर्वराजा शाहले प्रजातन्त्र दिवसका अवसरमा देशवासीका नाममा जारी दस मिनेटको भिडियो सन्देशमा देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरू हाैसिएर अभियान चलाउने प्रयास गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर