आज स्ववियु चुनावः मध्यरातमा एमाले अखिलले आरआरमा लगायो ताला

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ। विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्। विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ। विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ। मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो। यसको निष्पक्ष छानबिन गर्न पनि सो सङ्गठनले माग गरेको छ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ। निमित्त क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित गरिएको जानकारी दिएका हुन्।
सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ। आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने जनाएको छ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र सम्बन्धन प्राप्त ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ । ऐन, नियम, विनियम र निर्देशिकालाई आत्मसात् गर्दै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न त्रिविले अपिल गरेको छ
निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ । दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ ।
यसअघि ५ चैत २०७९ मा ५० आंगिक र ३ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका थिए । त्यतिबेला स्ववियु निर्वाचन हुन नसकेका रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, पृथ्वीनारायण क्याम्पस र ठाकुराराम बहुमुखीलगायत क्याम्पस यस पटक निर्वाचन गर्ने तयारीमा छन् । २०७३ मा उपत्यकामा ९ र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र निर्वाचन भएको थियो । त्रिविका २२ आंगिक क्याम्पस उपत्यकाभित्र र ४० उपत्यका बाहिर रहेका छन् ।
विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ चैत र पद्मकन्या बहुमुखी क्याम्पसमा ७ चैतमा मात्र निर्वाचन हुने भएको छ । १५ भन्दा बढी आंगिक क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन अनिश्चित छ । निर्वाचन स्थगित र अवरुद्ध बनेका क्याम्पसमा प्रक्रिया अगाडि बढाउन समझदारीको प्रयास भइरहेको सदस्यसचिव अधिकारीले जनाए । तोकिएको मितिमा मतदान गर्ने व्यवस्था गर्न नसके १५ दिनभित्र क्याम्पस प्रमुख र निर्वाचन समितिले स्ववियु निर्वाचन गराउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।
प्रतिकृया दिनुहोस