४५ आंगिक क्याम्पसमा मतदान जारी, आरआरमा एमाले अखिलले रोक्यो, त्रिचन्द्रमा नेविसंघले

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन शान्तिपूर्ण भइरहेको छ ।
त्रिवि अन्तर्गतका ६२ आंगिकमध्ये ४५ र २५० सम्बन्धन प्राप्त क्याम्पसमा मतदान जारी छ। त्रिवि रेक्टर खड्ग केसीका अनुसार सातै प्रदेशमा शान्तिपूर्ण रूपमा निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
पोखराको पृथ्वी नारायण क्याम्पसमा मतपत्रमा त्रुटि देखिएपछि मतदान केही समयका लागि रोकिएको छ। प्रशासनका अनुसार त्रुटि सुधार्ने प्रयास भइरहेको छ । चाँडै नै मतदान प्रक्रिया सुचारु गरिनेछ।
रेक्टर केसीका अनुसार अन्य स्थानहरूमा निर्वाचन निर्धारित तालिकाअनुसार सञ्चालन भइरहेको छ। त्रुटि देखिएको स्थानमा समेत केही दिनभित्रै मतदान गराउन आवश्यक पहल भइरहेको उनले जानकारी दिए।
विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचत हुनेछ। जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन्।
विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता छन्। यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन्।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन्। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ। कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन्। बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ।
स्ववियु निर्वाचनको तयारी भइरहेका बेला सोमबार मध्यराति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। त्रिचन्द्र क्याम्पसमा यसअघि नै नेविसंघले तालाबन्दी गरेकाे छ ।
सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा आज हुने भनिएको स्ववियु निर्वाचन स्थगित गरिएको छ।
स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिएका छन् ।
महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र सम्बन्धन प्राप्त ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ ।
१५ भन्दा बढी आंगिक क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन अनिश्चित छ । निर्वाचन स्थगित र अवरुद्ध बनेका क्याम्पसमा प्रक्रिया अगाडि बढाउन समझदारीको प्रयास भइरहेको सदस्यसचिव अधिकारीले जनाए । तोकिएको मितिमा मतदान गर्ने व्यवस्था गर्न नसके १५ दिनभित्र क्याम्पस प्रमुख र निर्वाचन समितिले स्ववियु निर्वाचन गराउनुपर्ने व्यवस्था निर्देशिकामा छ ।
प्रतिकृया दिनुहोस