राजावादीकाे उदण्ड प्रदर्शनमा के के भयाे ?

काठमाडौँ । राजावादीले शुक्रबार गरेको प्रदर्शनका क्रममा १४ स्थानमा आगजनी र ९ संस्था तथा कार्यालयमा तोडफोड गरेका छन् । कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट उल्लेख्य मात्रामा लुटपाट भएको प्रहरीले जनाएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकद्वारा काठमाडौंको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्वअनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा शान्तिपूर्वक प्रदर्शन गर्ने गरी आयोजित प्रदर्शनका क्रममा निजी सम्पत्ति, अस्पताल, संचारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत यातायतका साधनमाथि हिंसात्मक तोडफोड, आगजनी लगायतका अपराधिक घटना गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको हो ।
‘यस प्रकारका अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याई कानुनबमोजिम कारबाही गरिने व्यहोरा जानकारी गराइन्छ,’ प्रहरीले भनेको छ, ‘साथै उल्लेखित घटनामा संलग्न ५१ जना व्यक्तिलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको व्यहोरा समेत अनुरोध गरिन्छ ।
घाइते हुनेमा नेपाल प्रहरीतर्फ ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते र दुई जनाको मृत्यु भएको जनाएको छ । उच्छृंखल आन्दोलनका क्रममा ९ सरकारी सवारी साधन र ६ वटा सरकारी/निजी नखुलेको सवारी साधन तोडफोड र १४ निजी संस्था र भवनमा आगजनी गरिएको छ ।
प्रहरीका अनुसार अन्नपूर्ण कम्प्लेक्स, तीनकुने, मार्वल हाउस, तीनकुने, कोटेश्वर महादेवस्थान, कार्गोको कम्पाउण्डभित्र, कोटेश्वर गणेश चोक, भाटभटेनी नजिक सरकारी गाडीमा, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र, समाजवादी पार्टी कार्यालय, बालकुमारीबाट काठमाडौंतर्फ आउने करिडोर बाटो, बानेश्वर पुल पारिपट्टि, एयरपोर्टको फोहोरमा, ईन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल, रोयल रेस्टुरेन्ट, सिनामंगल र एरोम्याक्सको कार्यालय रहेको भवन, सिनामंगलमा आगजनी गरिएको छ । त्यसै गरी कान्तिपुर मिडिया हाउस, बानेश्वर, अन्नपूर्ण मिडिया हाउस, तीनकुने, केएमसी अस्पताल, सिनामंगल, सिनामंगलस्थित डीआईएअगाडि बन्दै रहेको नयाँ भवन, सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीटीभी क्यामरा, प्रहरी बिट सिनामंगल, भत्केको पुल, प्रहरी प्रभाग कोटेश्वर, ट्राफिक प्रहरी प्रभाग कोटेश्वर र समाजवादी पार्टी कार्यालय, बागमती करिडोरमा तोडफोड गरिएको छ ।
हिंसात्मक आन्दोलनमा दुई जनाको मृत्यु भएको छ भने सुरक्षाकर्मीसहित १ सय १० घाइते भएका छन् । मृत्यु हुनेमा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजक र कीर्तिपुर–४ का २९ वर्षीय सविन महर्जन छन् ।
प्रत्यक्ष प्रसारणका लागि भिडियो खिचिरहेका पत्रकार रजक बसेकै घरमा राजावादीले आगजनी गरेपछि जलेर मृत्यु भएको हो ।
सुमो चालक कीर्तिपुरका महर्जनको भने कोटेश्वरस्थित प्रहरी प्रभागमा ढुंगा प्रहार गरेर आगजनीे प्रयास गर्दा प्रहरीले चलाएको गोली लागेर ज्यान गएको हो ।
घाइते हुनेमा नेपाल प्रहरीका ५३, सशस्त्रका २२ र राजावादी ३५ जना छन् । घाइतेमध्ये ९ जनालाई गोली लागेको छ । तीमध्ये एकको अवस्था गम्भीर छ । रबरको गोली लागी घाइते भएका ५ जनाको निजामती कर्मचारी अस्पतालमा उपचार भएको छ । त्यहाँ उपचार गरिएकामध्ये एक जनाको आकस्मिक शल्यक्रिया गरिएको थियो । अन्यको अवस्था सामान्य छ । केहीलाई उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । गोली लागेका दुई जनाको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ । दुईमध्ये २७ वर्षका एक पुरुषको पेटमा गाली लागेको छ ।
उनलाई आकस्मिक शल्यक्रिया गरी भेन्टिलेटरमा राखिएको छ । अर्का एकको कुममा गोली लागेको र अवस्था सामान्य रहेको छ । गोली लागी घाइते अन्य दुई जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
उक्साएर आन्दोलन हिंसात्मक बनाएको भन्दै प्रहरीले रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल, सेफोर्ड लिम्बू र सन्तोष तामाङलगायत १७ जनालाई पक्राउ गरेको छ । आन्दोलनको ‘कमान्डर’ भनिएका दुर्गा प्रसाईं भने मोबाइल अफ गरेर राति अबेरसम्मै फरार छन् । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई भने घरमै नजरबन्द गरिएको छ ।
उग्र र अराजक राजावादीले इन्द्रेणी सहकारी रहेको भवनमा लगाएको आगो अर्को घरमा पनि सल्किएको थियो । तीनकुने क्षेत्रका दर्जन घरमा ढुंगा प्रहार भएका छन् । राजावादीले मिडिया हाउसमा समेत आक्रमण गरेका छन् । उनीहरूले तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको कार्यालय र गैरीगाउँस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरेका हुन् । अन्नपूर्णमा आगजनीको प्रयाससमेत भएको थियो ।
अन्नपूर्णको कार्यालयमा आगजनीको प्रयाससमेत भएको थियो । प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । रबरको गोलीका साथै केही राउन्ड ‘लाइभ बुलेट’ पनि प्रहार भएको थियो । राजावादीले तीनकुने, कोटेश्वर, बालकुमारी र जडिबुटी क्षेत्रमा गरेर करिब डेढ दर्जन गाडी जलाउनुका साथै कैयौं गाडी तोडफोड गरेका थिए ।
तीनकुनेबाट तितरबितर भएको अराजक भीड आलोकनगर, कोटेश्वर, सिनामंगलतर्फ बाटोमा हुलदंगा मच्चाउँदै अघि बढेको थियो । कोटेश्वरतर्फ बढेको भीडले सुरुमा चोकमा रहेको प्रहरी प्रभागलाई लक्षित गर्दै ढुंगा प्रहार गरेको थियो । त्यहाँ प्रहरीले बल प्रयोग गरेपछि भीड दुई भागमा बाँडिएको थियो । कोटेश्वरबाट दक्षिणतर्फ लागेको भीडले भाटभटेनी सुपरमार्केटलाई आफ्नो निसाना बनाएर तोडफोडका साथै लुटपाट गरेको थियो । कोटेश्वर चोकबाट पूर्वतर्फ बढेको भीडले भने जडिबुटी चोकमा रहेको जडिबुटी उत्पादन तथा प्रसोधन केन्द्रमा आगजनी र ढुंगामुढा गरेको थियो । जडिबुटी कारखानाको परिसरभित्र पार्किङ गरिएका ८ वटा गाडीसमेत जलेका छन् ।
आलोकनगरतर्फ गएका राजावादीले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड र आगजनी गरेका थिए । भाटभटेनीमा तोडफोड गरेर बालकुमारीतर्फ अघि बढेका राजावादीले ७ वटा गाडी जलाएका थिए । राजावादीले च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा प्रवेश गर्न खोजे पनि सुरक्षाकर्मीले रोकेका थिए ।
उग्र प्रदर्शनकारीको एउटा समूह पेरिसडाँडास्थित माओवादी कार्यालयमा प्रवेश गर्न खोजेको थियो । सुरक्षाकर्मी तैनाथ भएकाले प्रवेश सम्भव नभएपछि नजिकै पार्किङ गरिएको लागूऔषध नियन्त्रण ब्युरोको गाडी जलाएका थिए । बालकुमारी चोकबाट अघि बढेको भीडले बाटोमै पर्ने एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा पनि ढुंगा प्रहार गरेको थियो ।
सिनामंगलतर्फ अगाडि बढेका राजावादीले नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भवनबीचको झाडीमा आगो लगाएका थिए, जसका कारण शुक्रबार काठमाडौं विमानस्थल झन्डै डेढ घण्टा अवरुद्ध भएको थियो । यो अवधिमा दर्जनौं आन्तरिक र अन्तर्राष्ट्रिय उडान तथा सयौं यात्रु प्रभावित भएको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए ।
प्रहरी प्रवक्ता नायब महानिरीक्षक दिनेशकुमार आचार्यका अनुसार संसद् भवनबाट भक्तपुरतर्फ घर फर्कंदै गर्दा बालकुमारीमा राजावादीले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार चढेको गाडीसमेत जलाइदिएका थिए । ‘हिंसात्मक बनेका राजावादीले गरेको तोडफोड, आगजनीलगायत भौतिक क्षतिको पूरै विवरण आउन बाँकी नै छ,’ उनले भने । राजावादीले अश्रुग्यास प्रहार गर्ने बन्दुकसमेत सुरक्षाकर्मीबाट खोसेका थिए ।
राजावादीबाट व्यक्तिका घर, पसल, सञ्चारगृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर, तीनकुने, कोटेश्वर र गौशला क्षेत्रमा शुक्रबार दिउँसो ४ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । कर्फ्यु लगाएसँगै सुरक्षाका लागि सडक र चोकमा नेपाली सेना पनि तैनाथ भएका छन् ।
प्रतिकृया दिनुहोस