वाणिज्य विभागको नियमित अनुगमनले निर्माण सामग्रीको मूल्य घटाउन उद्योगी तयार

काठमाडौं । निर्माण सामाग्रीको मूल्य घटाउन उद्योगीहरु तयार भएका छन् । सरकारले पटकपटक गरेको पहलका कारण उद्योगीहरु निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् ।

हाल सिमेन्टको मूल्यमा प्रतिबोरा १५ देखि २५ रुपैयाँसम्म घटेको छ । यता, फलामे छडको मूल्य किलोको २ रुपैयाँले झार्ने उद्योगीले तयारी गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको निर्देशनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग कारबाहीमा उत्रिएपछि उद्योगीहरुले निर्माण सामग्रीको मूल्य घटाउन तयार भएका हुन् ।

विभागले अनुगमनलाई तिव्रता दिनुका साथै देशभरिका ठुला स्टिल र फलाम उद्योगहरुबाट आफ्नो उत्पादन लागतको विवरण पेस गर्न पत्राचार गरेको छ । यसै समयमा लोडसेडिङ्गको समय घटेका कारण समेत सिमेण्टको मुल्य घटेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दहालले भने, ‘अहिले निर्माण सामग्रीको मुल्य देशभर नै घटिरहेको छ । स्टिलको कच्चा पदार्थ आयात गर्नुपर्ने हुदाँ कम रकम घटेपनी २–३ दिनमै घट्छ ।

उद्योगीले पेश गरेका वास्तविक लागतको विवरण अध्ययन गरेपछी अधिक्तम खुद्रा बिक्री मूल्य (एमआरपी) तोक्न सजिलो हुन्छ । सबै बस्तुहरुमा एमआरपी अनिवार्य गर्दा अहिलेको भन्दा सहुलियत अवश्य हुन्छ, हामी त्यसका लागी छलफलमा छौँ ।’ उनले भने, ‘मूल्यवृद्धि किन गरियो भनेर हामी सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं । हामी वाणिज्यलाई सहजीकरण गर्ने र सँगसँगै उपभोक्ताको पनि हित गर्ने निकाय हौं । त्यसैले उपभोक्ताको अधिकारको ग्यारेन्टी हाम्रो दायित्वमा पर्छ ।’ देशभरिका सबै उद्योगलाई यही चैत २० गतेभित्र आफ्ना उत्पादनका प्याकेटमा खुद्रा बिक्री मूल्य (एमआरपी) अंकित गर्न निर्देशन दिएको उनको भनाई छ ।

सिमेन्ट र स्टिल उद्योगहरुबाट उत्पादन लागतको विवरण आइरहेको विभागले जनाएको छ । अहिले जम्मा २६ वटा स्टिल उद्योग तथा ३२ वटा सिमेण्ट उद्योग सञ्चालनमा रहेका छन् ।

केहि दिनअघि अनुगमन गरी कारवाही समेत गरेको विभागले चैत २१ देखि कडा अनुगमन गर्ने जनाएको छ । एमआरपी नलेखिएका सबै वस्तु बरामद गरेर तिनका उत्पादकलाई कारबाही गर्ने विभागको भनाई छ ।

सिमेण्ट उत्पादक संघका अध्यक्ष रघु नन्दन मारुका अनुसार सिमेण्टको मुल्यमा १५ देखी २५ रुपयाँ सम्म घटेको छ । उनले भने, ‘२ दिनदेखी लोडसेडिङको समय न्यूनिकरण भएको छ । पहिला १२ घण्टा जती लोडसेडिङ हुने गरेकोमा अहिले ७ घण्टामा झरेको छ । त्यसले गर्दा हाम्रो लागत घट्यो र भाउ घटायौँ । अहिले कम्तीमा पनि प्रतिबोरामा १५ रुपयाँका दरले मुल्य घटेको छ ।’

अध्यक्ष मारुले सिमेन्टमा अधिक्तम मुल्य राख्ने विषयले भने उपभोक्ता झनै मारमा पर्ने सक्ने बताएकाछन् । उनले भने,‘बोरामै मुल्य राख्दा देशभरकै एकै मुल्य हुन्छ र दुर्गममा ढुवानीका कारण सोहि अनुसार बढी रकमको एमआरपी लेख्नुपर्छ । मुल्य राख्दा ढुवानी खर्च कम लाग्ने ठाउँका उपभोक्तालाई समस्या हुन्छ । यस विषयमा सरकार संग अझै छलफल गरेर निर्णय लिनुपर्ने देखिन्छ ।’

सिमेन्ट उद्योगहरुले मंसिरयता पटकपटक गरी बोराको २सय बढी रुपैयाँसम्म बढाएको उपभोक्ताको गुनासो आएपछी उद्योग मन्त्री भण्डारीकै समन्वयमा उद्योगीहरुले मुल्य घटाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर