गभर्नर नियुक्तिमा अत्याधिक चलखेल बढ्यो

काठमाडौं । अर्थमन्त्रालय मातहतका सार्वजनिक निकायका पदाधिकारी तथा सदस्य नियुक्तिका लागि तोकिएको आवश्यक उमेर हद हटाइएको छ ।
अर्थमन्त्रालयले आफू मातहतका १५ वटा सार्वजनिक निकायमा नियुक्तिका लागि आवश्यक पर्ने उमेर हद हटाएको हो । ‘अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्वन्धी मापदण्ड, २०७३ को दोस्रो संशोधन’ गर्दै उमेर हद हटाएको हो ।
यसअघि कार्यकारी प्रमुखको हकमा तीस वर्ष र कार्यकारी प्रमुख बाहेक अन्य पदाधिकारी र सदस्यहरुको हकमा ३५ वर्ष उमेर पुराई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने व्यवस्था थियो । तर, नियुक्ति र मनोनयमसम्वन्धी मापदण्डको दोस्रो संशोधनबाट उक्त उमेर हद हटाइएको हो ।
नेपाल राष्ट्र बैंकसहित हाल अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायहरु १५ वटा छन् । नेपाल धितोपत्र बोर्ड, बीमा प्राधिकरण, नागरिक लगानी कोष, कर्मचारी संचय कोष, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, राष्ट्रिय बीमा संस्थान, राष्ट्रिय बीमा कम्पनी लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण कोष, ग्रामिण वकिास बैंक र एन, आई। डि।सी डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।
यति बेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति मुखैमा आइपुग्दा उमेर हद हटाइनुलाई निकै चासोका साथ हेरिएको छ । सरकारले अयोग्य र पेन्सनरलाई नियुक्ति दिलाउन एकाएक मापदण्ड संशोधन गरिएको कतिपयको बुझाई छ ।
वर्तमान गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदैछ । याँ गभर्नर नियुक्ति गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गत चैत ११ गते नै तीन सदस्यीय सिफारिस समिति बनीसकेको छ । समितिको सदस्यमा विजयनाथ भट्टराई र डा. विश्व पौडेल छन् । भट्टराई पूर्व गभर्नर हुन भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।
समितिले कम्तिमा एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका ३ मध्ये १ जनालाई मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गर्नेछ ।
तर, एकाएक मापदण्ड नै संशोधन हुँदा हाल गभर्नरको दौडमा रहेका अधिकांश प्रतिस्पर्धीलाई पनि झड्का दिएको छ । हाल राष्ट्र बेंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमिल्सना, प्रकाश कुमार श्रेष्ठ, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचन, नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना, डा. गुणाकर भट्ट, पूर्वसचिव केवल भण्डारी लगायतको पूर्व प्रसाशकहरु (नेपाल सरकारको पेन्सनर) को नाम चर्चामा छ । यी सबै नामहरुमध्ये केही आँकक्षी भने ६५ वर्ष नाघिसकेका छन् ।
प्रतिकृया दिनुहोस