पर्यटकीय हब बन्दै मुस्ताङ र मार्फागाउ

मुस्ताङ । मुस्ताङ भन्ने वित्तिकै मुक्तीनाथ, कागबेनी, मार्फागाउ त्यहाँ स्याउको बगान । पुराना प्राचीन घरहरू । गाउँभित्र साँघुरो गल्ली र त्यसभित्र चाहार्दै जाँदा एक दर्जन बढी शाखा गल्लीगल्ली । त्यही जैविक तथा सांस्कृतिक विविधताले भरिएको छ मुस्ताङ ।
यही पृष्ठभूमि मार्फालाई समेट्दै त्यही गाउँ जन्मिएकी एक सर्जक स्वर्गाीय बसन्ती लालचनले तीन दशक अघि ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रचना गरेकी थिइन् । ज्योति गुरूङको स्वर रहेको त्यही गीतले नेपालभरी मार्फालाई गुञ्जायो, त्यसपछि त मुस्ताङको मार्फा नआउने पनि मुस्ताङमा मार्फा गाउँ छ भन्ने थाहा पाए । आजभोलि सडक सञ्जाल सहज हुँदै जान थालेपछि मुस्ताङको मार्फा गाउँ नपस्ने कुनै पर्यटक हुँदैनन् ।
सडकमार्गमा सवारी रोकेर मार्फा गाउँमा लुकेर रहेको भौतिक तथा सांस्कृतिक सम्पदा नियाल्न पर्यटक घण्टौँ बिताउँछन् । क्या राम्रो स्याउबारी मार्फा गावैमा गीतले भने जस्तै अहिले मार्फा गाउँको स्याउ बगानमा स्याउ देख्न पाइँदैन । पुस र माघ महिनामा स्याउ बगैँचा व्यवस्थापन गरिएका यहाँका स्याउ बगानमा स्याउको फूल फूल्ने तयारीमा छ । बर्सेनि असोज कात्तिकमा स्याउ बगान ‘पोस्ट हार्भेस्ट’ गरिसकेपछि यहाँ स्याउ बगान उजाडमय हुन्छन् ।
बर्सेनि भदौदेखि असोज र कात्तिक महिनामा मुस्ताङ आउने पर्यटकले मुस्ताङको मार्फा स्याउ बगानमा लटरम्म स्याउ फलेको देख्न सक्छन् । हिउँदयाम सकिँदै गर्दा र वसन्त ऋतुको आगमनसँगै मुस्ताङको मार्फा गाउँमा आन्तरिक पर्यटकको उपस्थिति थेगिनसक्नु छ । राष्ट्रिय गौरवको (बेनी-जोमसोम) सडक नजिकै पर्ने मार्फा गाउँमा त्यहाँको पुरानो मौलिक कलासंस्कृति र त्यहाँका प्राचीन घरको संरचना र त्यही घर भित्रभित्र रहेको साँघुरो गोरेटो गल्ली बाटो पुग्ने पर्यटकका यो निकै अविष्मरणीय क्षण हुनेछ ।
मुख्य सडकमार्गबाट पश्चिम करिब दुई सय मिटरको भिरालो सतहमा अवस्थित मुस्ताङको मार्फा गाउँमा प्रत्येक दिन दिउँसोदेखि साँझसम्मै पर्यटकको निकै बाक्लो भीडभाड रहन्छ । सडकमार्ग स्तरोन्नति र विस्तारले मुस्ताङको मार्फा गाउँको पर्यटकीय गतिविधिलाई झनै चलाएमान बनाइदिएको छ । मुक्तिनाथ दर्शन र कोरलानाका पुगेर फर्किएका पर्यटक एक पटक मार्फा गाउँको अवलोकन गर्न छुटाउँदैनन् ।
प्युठान नगर्पालिका-१ प्युठानबाट मुक्तिनाथ दर्शन गर्न परिवारका सदस्यसहित मुस्ताङ आएकि शुशिला पोख्रेल मुस्ताङको मार्फा गाउँको सांस्कृतिक सम्पदा देखेर आफू मोहित भएको बताउछिन् । पहिलो पटक मुस्ताङ आएको परम्परागत सदियौं वर्ष पुराना, ढुङ्गा र माटोले बनेका घर, प्रत्येक घरका छतमाथि राखिएका दाउराको चाङ र अनि गाउँभित्रको साँघुरो गोरेटो गल्ली चाहार्दा निकै आनन्दित तुल्याएको अनुभूति भयो । ‘मार्फा गाउँको मुख्य विशेषता भनेका यहाँको प्राचीन घर र साँघुरो गल्ली रहेछ’ उनले भने, “साँघुरो गल्लीभित्र होटल र समथिङ पसलनै रहेछन्, सडकमार्गमै पर्ने भएकाले यहाँ घुम्न निकै सजिलो पनि रहेछ ।”
मुस्ताङको मार्फा गाउँमा करिब एक सय भन्दाबढी घरधुरी छन् । जहाँका स्थानीयले कृषि र पर्यटन व्यवसाय अपनाएको पाइन्छ । स्याउ लगायतका अन्नबाली उत्पादन गरेर मनग्ये आम्दानी गर्ने मार्फाली समुदायले पर्यटन व्यवसायलाई पनि मुख्य आम्दानीको रूपमा व्यवसाय चलाउँदै आइरहेका छन् । बर्सेनि पर्यटक आगमन बढेसँगै पछिल्लो समय बेनी—जोमसोम मुख्य सडकमा स्याउ बगैँचा मासेर कङ्क्रिट होटल निर्माण गर्नेसमेत होडबाजी चलेको छ ।
मार्फा गाउँको पुरानो भौतिक संरचना मासिन नहुने घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन बताउँछन् । सडकमार्गमा कङ्क्रिट घर बनेपनि मार्फाको प्राचीन बस्तीको भौतिक तथा सास्ंकृतिक संरचना मासिएमा मार्फा गाउँको अस्तित्व सङ्कटमा पर्ने गाउँपालिका अध्यक्ष लालचनको भनाइ छ । मुस्ताङको पर्यटकीय गाउँ मार्फाको मुख्य सडकमार्गबाट अलग्गिएर गाउँतर्फ मोडिएर करिब पाँच सय मिटर बढी साँघुरो गल्लीमा पैदलयात्रा गरेपछि उत्तरतर्फको मुख्य राजमार्ग सडकमा निस्किन सकिन्छ ।
त्यहाँको भिरालो सतहमा एकआपसमा लस्करै जोडिएका प्राचीन घरभित्र दर्जनौँ शाखा गल्ली छन् । मार्फा र यहाँको साँघुरो गल्लीभित्र दर्जनौँ स्वदेशी तथा विदेश चलचित्र र म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । यहाँ छायाँङ्कन भइसकेका चलचित्र, म्युजिक भिडियो र सामाजिक सञ्जालमा पोष्ट भएका दृष्यहरूले मार्फा गाउँको पर्यटनलाई थप उचाइमा पुर्याएको छ ।
प्रतिकृया दिनुहोस