बारको मत परिणाम अपडेटः मिश्रकाे ९३३, श्रेष्ठकाे ५५६

काठमाडाैं । कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसियसनको २७औं केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचन मतगणनाको दोस्रो दिन पनि अध्यक्षमा वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रको अग्रता कायम रहेको छ ।
अहिलेसम्मको मतपरिणामअनुसार मिश्रले ९३३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ५५६ ल्याएका छन् ।
नयाँ नेतृत्व छनोटका लागि शनिबार निर्वाचान भएको थियो । बारको नयाँ कार्यसमिति चयन गर्न ९ हजार ९ सय ५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो ।
काठमाडौं र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि अध्यक्षमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र व्यवसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ प्रतिस्पर्धामा रहेका छन् ।
वरिष्ठ अधिवक्ता मिश्रको समूहमा महासचिवमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला छन् भने वरिष्ठ अधिवक्ता श्रेष्ठको समूहमा अधिवक्ता यज्ञमणि न्यौपाने महासचिव पदमा उमेदबार रहेका छन् ।
मतगणना बिहान ८ बजेबाट जारी भएको थियो । जसमा बृहत् लोकतान्त्रिक, प्रगतिशील,पेसागत,राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षसहित अरु पदका उम्मेदवारको अग्रता कायम रहेको छ ।
प्रतिकृया दिनुहोस