• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

रञ्जिताकाे वरियतामा मिलेन कुराः जनमत र नागरिक उन्मुक्तिबीच ६ वैशाखमा निर्णायक वार्ता

काठमाडौँ । डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टी र रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच २०८२ वैशाख ६ गते निर्णायक वार्ता हुँदैछ।

वैशाख ६ गते पार्टी एकतालाई टुङ्ग्याउने गरी वार्ता हुने तयारी दुवै पक्षकाे छ ।

यसअघि पनि निर्णायक वार्ता गर्न जनमत अध्यक्ष राउत र नागरि उन्मुक्तिका संरक्षक रेशम चौधरी आ-आफ्नो कार्यदलसहित बाँके पुगेका थिए। तर, वरीयतामा कुरा नमिल्दा वार्ता स्थगित गर्नुपर्‍यो। 'बाँके वार्तामा कुरा मिलेन,' अध्यक्ष श्रेष्ठले भनिन्, 'वरीयतामा कुरा मिलेन। अब ६ गते गर्छौँ।'

स्रोतका अनुसार अध्यक्ष श्रेष्ठकै वरीयतामा कुरा नमिलेको हो। एकीकृत पार्टीको संरक्षक चौधरी, कार्यकारी अध्यक्ष राउत र सहअध्यक्ष श्रेष्ठ भनेर क्रमश: वरीयता बाँड्ने निर्णय भएको थियो। तर, उक्त निर्णयका प्रति श्रेष्ठले असहमति जनाइन्। यसपछि वार्ता स्थगित भएको हो।

श्रेष्ठले दाबी नछोड्ने सङ्केत गरेकी छन्। 'रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्। रुख काट्नै लाग्नुभयो भने पनि ख्याल गर्नुहोला। काटेको रुख तपाईंकै टाउकोमा पनि पर्न सक्छ,' उनले यसअघि फेसबूकमा लेखेकी थिइन्।

प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ। एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सहअध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन्। 'हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ। सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ,' कार्यदल सदस्यसमेत रहेका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भने। 

सल्लाहाकार अथवा सम्मानित नेताका रूपमा रेशम चाैधरी रहनेछन्, सीके राउत अध्यक्ष हुने पक्का भइसकेकाे छ भने रेशम पत्नी श्रेष्ठलाइ उपाध्यक्ष बनाउने पक्का छ । तर उनले त्यसलाइ सहअध्यक्ष भन्न माग गरेकी छन् । राउतले उपाध्यक्षमा दाजु डा.जयकिसन राउतलाइ पनि बढुवा गर्ने याेजना बनाएका छन् ।  

जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ। 

जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य हुन्। यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। 

कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य छन्। पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताए। 

विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्। जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए। हाल संसदमा जनमतका छ र नागरिक उन्मुक्ति पार्टीका चार सांसद रहेका छन्। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर