भएन सहमतिः प्रधानमन्त्रीले पनि शिक्षकहरुलाई विश्वस्त बनाउन नसकेपछि आन्दोलन नरोकिने

काठमाडौं । विगत १७ दिनदेखि आन्दोलन गरिरहेका देशभरका शिक्षकहरुको साझा संगठनका प्रतिनिधि र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्तामा सहमति जुट्न सकेन ।
गएराति झण्डै २ घण्टा भएको वार्तामा प्रधानमन्त्रीले शिक्षकका मागबारे विश्वस्त बनाउन नसकेपछि आन्दोलन जारी राख्ने निचोडमा शिक्षकहरु पुगेका छन् ।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार भेटमा शिक्षकहरूको अहिलेको आन्दोलन, शिक्षक-कर्मचारीको मागमुद्दा र विद्यालय शिक्षा ऐन जारी गर्ने सम्बन्धमा धारणा राखिएको थियाे ।
‘प्रधानमन्त्रीज्यूले सरकारले सम्बोधन गर्न सक्ने कुराबारे सल्लाह गरेर निर्णय लिने तथा ऐन जारी गर्न तदारुकता दिने कुरा गर्नुभयो,’ छलफलपछि अध्यक्ष सुवेदीले फेसबुकमा लेखेका छन्।
त्यस्तै राती साढे ११ बजे सभामुख देवराज घिमिरेसँग पनि छलफल भएको उनले बताएका छन्।
‘उहाँसँग विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायबारे छलफल भयो,’ अध्यक्ष सुवेदीले लेखेका छन्।
भेटवार्ता र छलफल भए पनि आन्दोलन स्थगित नभएको अध्यक्ष सुवेदीले जानकारी दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।
विद्यालय शिक्षा विधेयक, २०८१ छिटो पारित हुनुपर्ने लगायत माग राखेर महासंघको आह्वानमा यही चैत २० गतेदेखि शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्।
प्रधानमन्त्री ओलीले आन्दोलनमा उठाइएका जायज मागका सम्बन्धमा गृहकार्य गरी वार्ता र संवादबाट समस्याको समाधान गर्न गत चैत २५ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहितलाई निर्देशन दिएका थिए।
मन्त्रिपरिषदको यही वैशाख २ गतेको बैठकले संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने र यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय गरेको थियो।
सोही बैठकले महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेकाले विद्यालय भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षालाई ध्यान दिई आन्दोलन फिर्ता गरी विद्यालय फर्किन शिक्षकहरूलाई आह्वान गरेको थियो।
प्रतिकृया दिनुहोस