• २०८२ बैशाख ७ शनिबार
  • Saturday, 19 April, 2025

वर्षा बाधकः नेपाल र अफगानिस्तानबीचको खेल रद्द, विश्वकप खेल्ने मौका नेपालले गुमायो

काठमाडौं । वर्षा बाधक हुँदा नेपाली १९ वर्ष मुनिका युवाहरुले विश्वकप खेल्ने सपना यसपटकका लागि तुहिएको छ । आइसिसी यू-१९ विश्वकप २०२६ मा छनोट हुने नेपालको सपना चकनाचुर भएको हाे ।

शनिबार आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटअन्तर्गत अफगानिस्तनविरूद्धको निर्णायक खेल मूलपानी क्रिकेट मैदानमा मौसमका कारण हुन सकेन।

विहानैदेखि परेकाे पानीका कारणा मुलपानीस्थित तल्लो मैदानको पूर्वतर्फको भाग हिलो भएकाे थियाे ।

ग्राउन्ड स्टाफले मैदानबाट पानी सुकाउन हरसम्भव प्रयास गरेका थिए। एक बजेपछि मैदानमा घाम लागे पनि दुई बजेसम्म पनि खेल हुन सम्भव भएन। दिउँसो दुई बजेको अन्तिम निरीक्षणपछि म्याच रेफ्रीले खेल रद्द भएको घोषणा गरे। खेल रद्द भएपछि दुवै टोलीले एक-एक अंक बाँडे।

लिग चरणमा नेपाल र अफगानिस्तान दुवैले सुरूवाती तीन तीन खेलमा जित निकालेका थिए। दुवै टोलीले लिग चरणमा युएई, हङकङ र ओमानलाई हराएका थिए।

तर रनरेटमा भने अफगानिस्तानअघि थियो। त्यही रनरेटको फाइदा उठाउँदै अफगानिस्तान सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने विश्वकपमा छनोट हुँदा नेपाल भने स्तब्ध बन्यो। अफगानिस्तानको रनरेट ४.८१७० रहँदा नेपालको ३.५७६४ थियो।

एसिया छनोटबाट एक टोलीमात्र विश्वकपमा पुग्ने व्यवस्था छ।

नेपाली युवा टोलीले सन् २००० मा पहिलोपटक आइसिसी यू-१९ विश्वकप खेलेको थियो। त्यसयता नेपालले आठ पटक यू-१९ विश्वकप खेलिसकेको छ।

घरेलु टोली युएईलाई निर्णायक खेलमा ७ रनले हराएपछि नेपालले विश्वकपमा स्थान बनाएको थियो। जित नजिक पुगेको युएईलाई स्तब्ध पार्ने क्रममा नेपालक दिपेश कँडेलले पछिल्ला तीन विकेट लिँदा ह्याट्रिक गरेका थिए। उनले खेलमा पाँच विकेट लिएपछि नेपालले आठौं पटक विश्वकप खेल्ने पक्का भएको थियो।

यसपटक पनि अफगानिस्तानको चुनौती पन्छाउन नेपालले राम्रो तयारी गरेको थियो। वीरगन्जमा दिल्लीको यू-१९ टोलीसँग तीनको अभ्यास सिरिज खेलेपछि नेपालले मुलपानीमै अफगानिस्तान तीन खेलको एकदिवसीय सिरिज खेलेका थियो।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर