भुर्तेलको विस्फोटक ब्याटिङ, दीपेन्द्रकाे विश्व रेकर्ड, नेपालको दोस्रो जित

काठमाडाै । नेपालले ओपनर जोडीको अर्धशतकमा लगातार दोस्रो जित हात पारेको छ। हङकङमा जारी टी-२० सिरिजमा नेपालले बिहीबार बिहान कुवेतलाई ६ विकेटले हराएको हो।
नेपालको जितमा फेरि पनि कुशल भुर्तेलनै नायक बने। उनको विस्फोटक ब्याटिङमा कुवेतले दिएको १८६ रनको लक्ष्य नेपालले ७ बलअघि नै मात्र ४ विकेटको क्षतिमा पूरा गरेको हो।
नेपालको जितमा कुशल भुर्तेलले ५० बलमा ८१ रनको विस्फोटक इनिङ्स खेले। उनले ६ चौका र ६ छक्काको मद्दतमा उच्च स्कोर बनाउँदा अर्का ओपनर आसिफ शेखले पनि अर्धसतक पूरा गरे। आसिफले ३८ बलमा ५३ रन जोडे।
उनले २ चौका र ४ छक्का प्रहार गरे। कुशल मल्ल ४ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरीले मात्रै १२ बलमा ३१ रनको योगदान गरे। कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे।
कुवेतका यसिन पटेलले २ विकेट लिँदा मोहमद शाफिक र मोहमद अस्लामले एक/एक विकेट लिए।
त्यसअघि कुवेतले क्लिन्टो एन्टोको सर्वाधिक ४१ रनको मद्दतमा ८ विकेटको क्षतिमा १८५ रनको योगफल तयार गरेको थियो।
ओपनर रविजा सन्द्रुवानले २६ तथा मिट भावसारले ३५ र बिलाल ताहिरले ३२ रन बनाएका थिए। कप्तान मोहमद अस्लामले १७ रन जोडे।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिँदा नन्दन यादवले २ विकेट हात पारे। ललित राजवंशी र कुशल भुर्तेलले एक/एक विकेट लिए।
यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको थियो। चार देश सहभागी सिरिजमा अब नेपालले शनिबार हङकङसँग खेल्नेछ।
यसैबीच नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा विश्व कीर्तिमान कायम गरेका छन् ।
उनले बिहीबार कुवेतविरुद्ध खेल्दै सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।
उनले लगातार ६६ टी-२०आईमा डगआउट भएका छैनन् । वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।
कुवेतविरुद्ध दीपेन्द्रले १२ बलमा ३१ रन बनाउँदै नेपाललाई जिततर्फ दोहोर्याएका थिए ।
प्रतिकृया दिनुहोस