• २०८२ बैशाख ६ शुक्रबार
  • Friday, 18 April, 2025

यस्तो बन्यो नेपाल बारको नयाँ कार्यसमिति

काठमाडौं । कांग्रेस–एमाले गठबन्धनले नेपाल बार एशोसियशनको नयाँ कार्यसमितिमा क्लिनस्वीप गरेको छ । माओवादी केन्द्र, रास्वपा र नेकपा एस निकटका वकिलहरु नयाँ कार्यसमितिबाट पूरै बाहिर परेका छन् । 

आज सार्वजनिक अन्तिम मत परिणाम अनुसार बार अध्यक्षमा विजयप्रकाश मिश्रको नेतृत्वमा नयाँ कार्यसमितिको चयन भएको हो। 

अध्यक्षका उम्मेदवार मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी माओवादी केन्द्र-रास्वपा-एकीकृत समाजवादीतर्फ गठबन्धनका उम्मेदवार रमनकुमार श्रेष्ठले २ हजार ६२१ मत प्राप्त गरे।

उपाध्यक्षहरूमा सात प्रदेशबाट पदमप्रसाद लिम्बु, अजयशंकर झा, तेजबहादुर रावल, भूपेन्द्र खनाल, कृष्णप्रसाद पोख्रेल, विवशकुमार बस्नेत, सिद्धराज ओझा र महिलातर्फबाट अधिवक्ता सरस्वती श्रेष्ठ विजयी भए।  केदारप्रसाद कोइराला महासचिव निर्वाचित भए। 

कोषाध्यक्षमा जगतबहादुर कार्की, दलित सदस्यमा चिरञ्जिबी तिलक्यानी, मधेसी तर्फ (काठमाडौं बाहिर)बाट सूर्यकुमार यादव, मधेसी/मुस्लिम खुला रिंकुकुमारी यादव, आदिवासी/जनजाति (काठमाडौं बाहिर) वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ र आदिवासी जनजाति खुलामा मंगल सुन्दर शिल्पकार निर्वाचित भएका हुन्।

महिला सदस्यमा रंजिता कार्की, काठमाडौं बाहिरका अधिवक्ता किरण पौडेल र खुलातर्फ किरण न्यौपाने, शारदा गुरूङ, दमनबहादुर चन्द, बाबुराम अर्याल, मुकुन्द अधिकारी र माधव मैनाली विजयी भएका हुन्।

नवनिर्वाचित अध्यक्ष वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले न्यायपालिकामा रहेका विकृति र विसंगति हटाउनका लागि लागिपर्ने बताएका छन् ।

आफ्नो कार्यकालमा बारले न्यायपालिकालाई स्वच्छ बनाउन भूमिका खेल्नुपर्ने र त्यसका लागि बारको नवनिर्वाचित कार्यसमितिले कार्य गर्ने मिश्रले प्रतिबद्धता जनाएका छन् ।

मिश्रले चुनावमा अगाडि सारेका एजेन्डा कार्यान्वयन गर्ने बताएका छन् । 'नेपाल बारमा मैले धेरै काम गर्नुपर्ने छ । बोलेर हैन काम गरेर देखाउनको लागि हाम्रो टिम नै लागिपर्ने छौँ,’ उनले भने, 'संविधान संशोधन, न्यायपालिकाको सुधार, न्यायपरिषद् संरचनाको सुधार, न्यायपरिषद्को कार्यपद्धतिमा सुधार हाम्रो योजना रहेको छ । न्यायपालिकामा रहेका विकृति, विसंगति हटाउनको आवश्यक कार्य गर्नेछौं । न्यायपालिकामा देखिएका समस्या सुधार गर्नको लागि हामी लाग्नेछौँ ।'

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर