देउवा बैंकक जानेभएपछि ओलीलाई सरकार ढल्ने आशंका

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री डा. आरजु राणा, छोराबुहारी सहित आगामी हप्ता ब्यांकक भ्रमणमा जाँदैछन्। थाइल्यान्डमा देउवाको बसाइ कहाँ हुन्छ भन्ने जानकारी नभएकाले पनि बालुवाटार यो भ्रमणप्रति आशंकित भएको हो।
स्वास्थ्य उपचारका लागि विदेश जाँदा परराष्ट्रमन्त्री डा. राणा एक्लै जाने गरेकी छन्। तर, यसपटक सभापति देउवा पत्नी राणाको ब्यांकक भ्रमणको छेकोमा आफू पनि स्वास्थोपचारका लागि सँगै जाँदै छन्।
जहाँसम्म परराष्ट्रमन्त्री डा. राणा देउवाको ब्यांकक भ्रमणको सन्दर्भ हो, मन्त्री राणा संयुक्त राष्ट्रसंघको इकानोमिक एन्ड सोसल कमिसन फर एसिया एन्ड प्यासिफिक (इस्क्याप) आर्थिक तथा सामाजिक आयोगको आगामी ८–१२ वैशाखमा ब्यांककमा हुने ८१ औँ बैठकको अध्यक्षता गर्ने गरी जान लागेकी हुन्।
सो बैठक ब्यांककस्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा हुने बताइएको छ। बैठकका लागि उनी ७ वैशाखमा ब्यांकक प्रस्थान गर्नेछिन्। १२ वैशाखमा उनी स्वदेश फर्कने कार्यक्रम छ।
परराष्ट्रमन्त्री डा. राणाले अध्यक्षता गर्ने ‘इस्क्याप’ को यस पटकको बैठकले एसिया तथा प्रशान्त क्षेत्रका मन्त्री लगायत अन्य सरोकारवालालाई एक ठाउँमा ल्याउने र यो क्षेत्रका समावेशी र दिगो विकासका लागि वर्तमान र भविष्यका जल्दाबल्दा नीतिगत मुद्दाहरूमा विचार विमर्श हुने बताइएको छ।
यसपटकको बैठकको मूल नारा ‘एसिया र प्रशान्त क्षेत्रमा लचिलो र दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग’ तय गरिएको छ। बैठकले समावेशी प्रकृतिको सहरी विकासलाई बढावा दिने र सबै तहमा दिगो विकासका लागि सन् २०३० सम्मका लागि तय गरिएका एजेन्डाहरूलाई प्रवर्द्धन गर्ने लक्ष्य बैठकले लिएको छ।
सो बैठकमा छिमेकी चीनको तर्फबाट उपविदेशमन्त्री मा चाओछुले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
ब्यांककस्थित नेपाली राजदूतावास स्रोतका अनुसार परराष्ट्रमन्त्री डा. राणा र चिनियाँ उपविदेशमन्त्रीबीच भेटवार्ता तय भइसकेको छ।
स्रोतका भनाइमा, देउवा परिवारसँगै थाइल्यान्ड भ्रमणमा ‘नयाँ आयाम मल्टी डिस्प्लिनरी इन्स्टिच्युट’ (नामी) कलेजका प्रमुख कार्यकारी अधिकृत प्रनिल पाण्डे पनि हुने छन्। सो कलेजमा देउवा परिवारको समेत लगानी रहेको चर्चा चल्ने गरेको छ।
‘भ्रमण अवधिभर पाण्डेको बसोबास ब्यांककस्थित राजदूतावासमा हुने भनिएको छ,’ ब्यांककस्थित नेपाली राजदूतावासस्थित स्रोतले भन्यो, ‘बैठकका लागि आउनु भएकाले परराष्ट्रमन्त्री डा. राणाको बसोबास ‘इस्क्याप’ ले व्यवस्थापन गरेकै होटलमा होला। तर सभापति देउवा लगायत अन्य पारिवारिक सदस्यको बसोबास कहाँ हुन्छ, त्यस विषयमा राजदूतावासलाई जानकारी छैन।’
प्रधानमन्त्री ओलीप्रति भारतीय संस्थापनको असन्तुष्टि रहे पनि बिमस्टेक शिखर सम्मेलनका प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच २२ चैत्रमा ब्यांककस्थित मन्डारिन ओरेन्टल होटलमा एक्लाएक्लै वार्ता भएको थियो।
प्रतिकृया दिनुहोस