ज्ञानेन्द्रलाई नक्कली राजाको संज्ञा दिदै प्रचण्डको प्रश्नः वीरेन्द्र बंशनासको छानविन गर्ने आँट छ ? (भिडियाे)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहलाई नक्कली राजाको संज्ञा दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रको बंशानासबारे छानविन गर्न राजावादीलाई चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले संविधानलाई चुनौती दिएर देशलाई वंशवादतिर फर्काउने प्रयास गभइरहेको भन्दै माओवादीले जिम्मेवार भएर त्यसको सामना गर्ने बताएका छन् ।
धरानमा आयोजित किराँती राष्ट्रिय मुक्ति मोर्चा र लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चा नेपालको संयुक्त राष्ट्रिय सम्मेलनमा प्रचण्डले राप्रपाका सांसदहरूले यही संविधानअनुसार सदनभित्र बसेर तलबभत्ता र सबै सुविधा लिएर संविधानकै विरोध गरेको भन्दै आलोचना गरे ।
‘देशमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यही भएर सदनभित्र बसेर यही संविधानअनुसार तलबभत्ता सबै सुविधा लिने, अनि ही संविधानको विरोध गर्ने अधिकार पाउनुभएको छ । तपाईँको हिजो राजशाहीमा त्यो अधिकार थियो ? जनताले बिर्सेको छैन, बिर्सिने पनि छैन’, प्रचण्डको भनाइ थियो ।
प्रचण्डले राप्रपाका सांसदलाई नक्कली राजाको कुरा नगर्न भन्दै रियल राजा (वीरेन्द्र) को वंशनास भएको विषयमा छानबिन गरौं भन्ने आँट छ ? भन्दै राप्रपालाई प्रश्न गरेका छन् ।
उनले थपे, दरबारभित्रको भयानक सिंगो परिवारको हत्याको छानबिन गर्ने आँट किन गर्नुभएन । मैले गणतन्त्रको पहिलो प्रधानमन्त्रीको हैसियतले प्रस्ताव गरेको थिएँ । दरबारको भयानक हत्याको जिम्मेवार को हो ? जनताको मनमनमा सबैलाई क्लियर छ, यही हो भन्ने । आयोगकै छानबिन नभएकाले भन्न गार्हो छ । सही छानबिन गर्ने हो भने हाम्रै आँखा अगाडि छन् । प्रमाणित गर्न केही गार्हो छैन, जनताले बुझ्नुपर्यो फेरि एकपटक जाग्नुपर्यो । आन्दोलन गर्छौं भन्ने राजावादी साथीहरूलाई दरबार हत्याकाण्डको छानबिन गरौं भन्ने प्रस्ताव ल्याउन आँट गर्नुहुन्छ ? तपाईँ बडो राजा चाहिन्छ भन्नेहरूलाई अरुभन्दा सालिन राजा भनेर जनताले माया गर्ने राजाको निर्मम ढंगले हत्या हुँदा त्यसको छानबिन गरौं भन्ने आँट छ ? अनि के को राजाको कुरा गर्नुहुन्छ ? अहिले तपाईँहरूले भन्ने गरेको राजा राजा होइनन् । नक्कली राजा हुन् । नक्कली राजालाई बोक्नुभएको छ ? रियल राजाका हत्यारालाई छानबिन गरौं किन भनिरहनुभएको छैन । तपाईँहरू पनि नक्कली कुरा गरिरहनुभएको छ ।'
उनले भने, ‘हत्यारा मण्डले गुण्डागर्दी अहिले पनि हत्या, आगजनीमै गए १५ गतेबाट जनतालाई छर्लङ्गै भयो देखियो । सुनारको सय चोट, लोहारको एक चोट भनेजस्तो एक चोट हामीले हानेपछि उनीहरूको बेलुन फुटेको छ । १ लाख काठमाडौंमा उतारेपछि उनीहरूको योजना विफल भयो । जेठ १५ देखि अर्को बेलुनमा हावा भर्ने अरे । खबरदार ! त्यो हुनेवाला छैन । जागिसकेको जनतालाई संसारको कुनै शक्तिले रोक्ने छैनन् । त्यो दुस्साहस नगर्न कथित राजावादीलाई चेतावनी दिन चाहन्छु ।’
उनले शासकीय स्वरूप र निर्वाचन प्रणाली बदल्न संविधान संशोधन हुनुपर्ने बताएका हुन् ।
‘त्यतिबेला(संविधान निर्माण) पनि हामीले भनेका थियौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा जाने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानै पर्छ । यसो गर्दा धनीहरूले मात्र चुनाव लड्ने स्थितिको अन्त्य हुन्छ’, उनले भने, ‘लाखौं पैसा खर्च गरेर सांसद हुने । त्यसपछि करोड खर्च गरेर मन्त्री हुने । अनि आफूले खर्च गरेको पैसा डबल त्रेबर बनाएर उठाउने जुन प्रणाली छ जबसम्म रहन्छ यो देशबाट भ्रष्टाचारको अन्त्य हुनै सक्दैन ।’
प्रतिकृया दिनुहोस