सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगमा कांग्रेस–एमालेकाे भागबण्डा, माओवादी असन्तुष्ट

काठमाडौं । शान्ति प्रकृयाका एउटा छुट्टै हिस्सा नेकपा माओवादी केन्द्रलाई अलग्याएर शान्ति प्रकृयाका बाँकी काम अघि बढाउन खोजेपछि प्रमुख प्रतिपक्षी दलसमेत रहेको माओवादीले असन्तुष्टि जनाएको छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमा सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसले भागबण्डा गर्दै अध्यक्ष नियुक्त गर्ने तयारी गरेपछि माओवादीले यसबार असन्तुष्टि जनाएको माओवादीको यो विषय हेरिरहेका एक नेताले समाचार दैनिकलाई बताए ।
दुई आयोगका लागि नाम सिफारिस गर्न गठन भएको पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) ले दुई आयोगको पदाधिकारी सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार बेसको सर्च कमिटीको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
थापा कांग्रेसकाे तर्फबाट सिफारिसमा परेका हुन् भने पूर्व मुख्यसचिवसमेत रहेकी गड्ताैला एमालेकाे सिफारिसमा परेकी हुन् । उनका बारे संक्रमणकालिन न्यायबारेकाे ज्ञानसमेत कम रहेकाे भनेर कतिपयले आलाेचना गरेका थिए ।
थापा र गड्तौलासहित ८ सदस्यको नाम पनि सफारिस गर्ने निर्णय गरेको स्रोतको भनाइ छ ।
यसअघि आयोगले आयोगको पदाधिकारीका लागि मागेको निवेदनमा १११ जनाले आवेदन दिएका थिए । त्यसमध्ये ३४ जना सर्ट लिस्टमा परेका थिए । ती मध्येबाट १० जना आयोग पदाधिकारी सिफारिस भएका हुन् ।
यी दुई आयोगमा अध्यक्ष नियुक्तिका लागि सरकारले सर्च कमिटि गठन गरेको थियो । कमिटिले आज सिफारिस गरेका अनुहारहरु एकजना कांग्रेसको कोटबाट र अर्को एमालेको कोटाबाट परेका छन् ।
सर्च कमिटिले आज साँझ सरकारलाई सिफारिस प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
यसअघि प्रधानमन्त्री केपी ओलीले टिआरसीबारे छलफल गर्न बोलाएको बैठकमा पनि माओवादीले यी दुई आयोगमध्ये एकमा माओवादीले गरेको सिफारिस अनुसारको नियुक्त हुनुपर्ने अडान राखेको थियो । नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष हुने भएमा वेपत्ता छानविन आयोगमा माओवादीको सिफारिस हुनुपर्ने तर्क गरेको थियो ।
प्रतिकृया दिनुहोस