प्रचण्डले भनेः नुवाकोटमा राजावादीले आक्रमणको प्रयास गरे

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले छाडा भएर माओवादीमाथि आक्रमण गर्ने कोसिस गरेको बताएका छन् ।
आइतबार वाईसीएलको तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजावादीहरूले कताकताबाट पैसा ल्याएर भाडाका मान्छे ल्याएर जाँड खुवाएर उफार्ने गरेको आरोप लगाए ।
‘अहिले राजावादीहरूले बडो कताकताबाट पैसा ल्याएका छन् । पैसा त उनीहरूले थुपारेकै होलान्’, प्रचण्डले भने, ‘त्यही पैसाका बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने र उफार्ने गरेको देखिराखिएको छ ।’ प्रचण्डले उनीहरूको सभा र कार्यक्रममा जाइलाग्ने नभई उनीहरू आइलागे नछोड्न वाईसीएललाई निर्देशन दिए ।
‘हामी उनीहरूको सभा र आन्दोलनमा जाइलाग्ने चाहिँ होइन, आक्रमण गर्ने भन्न मैले खोजेको होइन’, प्रचण्डले भने, ‘तर उनीहरू छाडा भएका छन् । छाडा भएर हामीमाथि आक्रमण गर्ने कोसिस गर्दैछन् । यदि उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले तयारी गर्नुस् । गर्नैपर्छ ।’
त्यसक्रममा प्रचण्डले नुवाकोटमा शनिबार भएको एक कार्यक्रममा एउटा राजावादी त्यस्तै छाडा व्यवहार देखाएको स्मरण गरे ।
‘म हिजोको नुवाकोटको घटना मात्र सुनाउँछु । म बोल्दै थिएँ । एउटा राजावादी अराजक रहेछ । म प्रश्न गर्छु गर्छु भन्दै आक्रोशित भयो’, उनले भने ‘मैले राजावादीको वैचारिक र राजनीतिक आलोचना गर्दै थिएँ उसलाई सही सक्नुभएनछ ।’
नुवाकोटमा भएको कार्यक्रममा जनार्दन अधिकारी नामका राप्रपाका स्थानीय नेताले प्रचण्डले सम्बोधन गर्दागर्दै बिचमै प्रश्न गरेका थिए । सो क्रममा अधिकारीमाथि हातपात भएको थियो ।
यसैबीच अध्यक्ष प्रचण्डले पार्टीभित्र देखिएको रोग योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) मा पनि सरेको बताएका छन् । वाइसीएलको तेस्रो राष्ट्रिय सम्मेलनलाई आइतबार प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्दै उनले त्यसमा गम्भीर भएर सोच्न आग्रह गरेका छन् । रोग लाग्नुको मुख्य दोषी वाइसीएल नभए पार्टी नै भएको उनले स्वीकारेका छन् ।
‘पार्टीमा सरेको रोग वाइसीएलमा सरेको मलाई राम्रोसँग थाह छ । म तपाईंलाई दोष दिन्न । मुख्य दोषी पार्टी नै हो । पार्टीमा नै समस्या भएपछि त्यसका हाँगाबिँगा, शाखा सबैतिर रोग सर्नु स्वाभाविक नै हो’, उनले भने, ‘तर पार्टीले आत्मासमीक्षा गरी रूपान्तरण गर्छु भनेर जनतामा गएर आएर र जाँदै गरेको नाताले म तपाईंलाई भन्न चाहन्छु– तपाईंले पनि आत्मसमीक्षा त गर्नैपर्छ । चोखै छौँ भनेर सोच्नुभयो भने रूपान्तरण हुँदैन । त्यसकारण म गम्भीरतापूर्वक सोच्न जरुरी छ ।’
प्रतिकृया दिनुहोस