• २०८२ जेठ २० मंगलबार
  • Tuesday, 3 June, 2025

वाम एकताको पक्षमा पहल गर्न पूर्वराष्ट्रपति भण्डारीलाई चीनको सुझाव

काठमाडौँ । चीनले नेपालकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई वाम एकताका लागि पहल गर्न सुझाव दिएको छ । एक साता लामो चीन भ्रमणमा रहेकी भण्डारीलाई एमाले वरिष्ठ नेताका रूपमा सम्मान गर्दै चीनले यस्तो सुझाव दिएको हो ।

एमालेले पूर्वराष्ट्रपतिको हैसियतले भण्डारी चीन भ्रमणमा गएको बताए पनि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले एमाले वरिष्ठ नेताका रूपमा सम्बोधन गरेको छ । गत शनिबार बेइजिङमा भण्डारीसँग भएको भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउ चियानछाओले नेपालमा राजनीतिक स्थायित्वका लागि वामपन्थी शक्ति मिल्न आवश्यक भएको सुझाव दिएका थिए । ‘वाम एकताका लागि पूर्वराष्ट्रपति भण्डारीले नेतृत्व लिनु राम्रो हुने उनको सुझाव थियो,’ भ्रमण टोलीका एक सदस्यले भने । यसअघि माओवादी नेताहरूको चीन भ्रमणमा पनि सीपीसी नेताहरूले वाम एकता गर्न सुझाव दिँदै आएका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच द्वन्द्व उत्कर्षमा पुगेको बेला भण्डारीले मिलाउने कसरतसमेत गरेकी थिइन् । २०७७ साउनमा ओली र दाहालबीच द्वन्द्व चर्किएका बेला राष्ट्रपतिको भूमिकामा रहेकी भण्डारीले सहमतिको प्रयास गरे पनि सफल हुन सकेकी थिइनन् । २०७७ फागुनमा सर्वोच्च अदालतको आदेशले एमाले र माओवादीलाई एकतापूर्वको अवस्थामा फर्काएको थियो ।

भेटमा लिउले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता सहयोग तीव्र पार्न र दुई देशको साझा भविष्यमा सुधार आवश्यक भएको बताए । ‘चीन–नेपाल सम्बन्धको विकासमा अन्तरपार्टी आदानप्रदानले महत्त्वपूर्ण भूमिका खेल्छ’ लिउको भनाइ थियो, ‘सीपीसी नेपालका सबै राजनीतिक दलसँग आदानप्रदानलाई सुदृढ पार्न, सरकारीस्तरमा आदानप्रदान र पारस्परिक अनुभवको सिकाइलाई गहिरो बनाउन र राजनीतिक पार्टीका साथै नयाँ च्यानलमार्फत विभिन्न क्षेत्रमा व्यावहारिक सहयोगलाई प्रवर्द्धन गर्न इच्छुक छ ।’

पूर्वराष्ट्रपति भण्डारीले नेपालको विकासमा दीर्घकालीन सहयोगका लागि चिनियाँ कम्युनिस्ट पार्टी, चिनियाँ सरकारलाई धन्यवाद दिएकी थिइन् । भण्डारी यही जेठ १० मा चीन भ्रमणमा गएकी हुन् । उनको टोलीमा एमाले विदेश विभाग प्रमुख एवं सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापालगायत छन् । नेता थापाले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालकै विशिष्ट नेताका रूपमा चीनले सम्मान दिएको बताए । ‘उच्चस्तरीय भेटघाट भए,’ उनले भने, ‘राजनीतिक अस्थिरताले दीर्घकालीन विकासका काम अघि बढ्न सक्दैनन् । विशिष्ट नेताको हैसियतले प्रणाली बलियो बनाउन उनीहरूको सुझाव थियो ।’

लिउले नेपाल र चीनबीच भएको बीआरआई कार्यान्वयन चाँडो होस् भन्ने चाहेको बताएका थिए । बीआरआई परियोजना अघि बढाउने पक्षमा आफू रहेको उल्लेख गर्दै भण्डारीले राष्ट्रपतिको हैसियतले २०७६ वैशाखमा भएका सहमति स्मरण गराएकी थिइन् । भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति चिनफिङले २०७६ असोजमा नेपालको भ्रमण गरेका थिए । ‘आफू राष्ट्रपति भएका बेला भएका सहयोग कार्यान्वयन हुनुपर्नेमा उहाँ (भण्डारीको) जोड थियो,’ थापाले भने, ‘भ्रमण राजनीतिक हिसाबले सन्देशमूलक, दुई देशको सम्बन्धका हिसाबले नयाँ समयको नयाँ विश्वास भएको छ ।’

सीपीसीले बेइजिङमा गत सोमबार गरेको छिमेकी देशका नेताहरूको सम्मेलनमा भण्डारीलाई प्रमुख वक्ताका रूपमा सहभागी गराएको थियो । नेपाल, मलेसिया, पाकिस्तान, श्रीलंका, थाइल्यान्डलगायत देशका नेतालगायत सहभागी थिए । सम्मेलनमा भण्डारीले सीपीसीको ऐतिहासिक अनुभव र समसामयिक अभ्यासले नेपालको आर्थिक तथा सामाजिक रूपान्तरणमा सहयोग मिलेको बताइन् ।

भण्डारीले चीनको गान्सु प्रान्तको डुनहुवाङमा सभ्यता आदानप्रदान संवादलाई सम्बोधन गरेकी थिइन् । । उनले शुक्रबार साँझ गान्सु प्रान्तको डुनहुवाङ १३ औं राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका उपाध्यक्ष तथा चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष ची बिंग्सुआनसँग पनि भेटवार्ता गरेकी थिइन् । भण्डारी सोमबार स्वदेश फर्कने कार्यक्रम छ ।
-कान्तिपुर दैनिकबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर