• २०८२ बैशाख २९ सोमबार
  • Monday, 12 May, 2025

नीति तथा कार्यक्रम बहुमतले पारित, तर सांसदका सुझाव बजेटमा समेटिदैनन्

काठमाडाैं । नेपालकाे संसदीय इतिहासमा एउटा कर्मकाण्डी काम जस्तै बनेकाे सरकारकाे नीति तथा कार्यक्रम माथि संसदमा हुने छलफल सकिएकाे छ ।

सरकारले ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएसँगै छलफल सकिएकाे हाे। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ पेस गर्दा यसमा बहुमत सांसदले समर्थन जनाएपछि पारित भएको घोषणा गरेका हुन्।

गत वैशाख १९गते संघीय संसद्को संयुक्त बैठकमा पेस भएको नीति तथा कार्यक्रमका पक्षमा सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु उभिएका थिए भने विपक्षी दलले विरोध गरेका थिए। 

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि संसद्‍मा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए। 

नीति तथा कार्यक्रममाथि सांसदहरूले दिएका सुझाव प्रधानमन्त्रीकाे यही जवाफसँग सकिएका छन् । किनभने संसदमा उठेका प्रश्न र सुझावहरू बन्दै गरेकाे बजेटमा समेट्ने सरकारकाे तयारी छैन।

यसअघि प्रचण्ड नेतृत्वकाे सरकारले भने संसदमा पाएका सुझावलाइसमेत बजेटमा समेटेकाे थियाे । जुन परम्परागत संसदीय अभ्यास भन्दा नयाँ थियाे ।

संसदमा विपक्षी दलका विभिन्न सांसदहरुले नीति तथा कार्यक्रममाथि पेस गरेका संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्दा अधिकांश अस्वीकृत भएका थिए।

नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारले जेठ १५ गते संघीय संसद्‍मा आर्थिक वर्ष २०८२/०८३ को बजेट पेस गर्नेछ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर