मेरिटका आधारमा उपकुलपति बनेका बरालको राजीनामा प्रधानमन्त्रीले गरे स्वीकृत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंगको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री एवं कुलपति ओलीले उपकुलपतिको राजीनामा आज स्वीकृत भएको उनकाे सचिवालयले जानकारी दिएकाे छ ।
गत फागुन १० गते तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रा.डा बराललाइ त्रिविको २० औँ उपकुलपतिमा प्रतिस्पर्धात्मक बिधिबाट नियुक्त गरेका थिए । पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा रहको सिफारिस समितिले बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो । सिफारिस गरिएकामध्ये दोस्रो नम्बरमा रहेका बराललाई नियुक्त गरेको हो ।
२०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए ।
त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए । पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए ।
उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए । र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए । अर्थात् २०५४ सालमा उनले पढाई सकाए । यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्यो ।
भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए । उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए । त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे । त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए । त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे ।
क्याम्पसमा उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे । त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे । त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए । र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए ।
२०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्यो । र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए । सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ ।
तर अहिलेकाे सरकारले स्वतन्त्रतापूर्वक काम गर्न नदिएकाे भन्दै उनले पदबाट राजीनामा दिएका थिए ।
प्रतिकृया दिनुहोस